काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम स्तरको वर्षा मापन गरिएको छ ।
विशेषगरी, पूर्वी नेपालका केही क्षेत्रमा भने भारी वर्षा भएको छ। विभागका अनुसार गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ।
भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया