धरान । धरान उपमहानगरका नगरप्रमुख हर्कराज साम्पाङले स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक अभिव्यक्तिमा उनले जीवनभन्दा स्वतन्त्रता महत्वपूर्ण रहेको जनाएका छन्।
“मृत्यु स्वीकार छ तर पराधीनता स्वीकार गर्दिन,” साम्पाङले लेखेका छन्, “मेरो पूर्खाले मलाई झुक्न सिकाएन, आँधी देखेर लुक्न सिकाएन।”
उनले इमानदारी र परिश्रमप्रति आफ्नो प्रतिबद्धता पनि दोहोर्याएका छन्। “मेहनतले फलाएर खान्छु म, कसैलाई लुट्न सिकाएन,” भन्ने अभिव्यक्तिमार्फत उनले भ्रष्टाचार र अनैतिक व्यवहारको विरोध जनाएका छन्।
आफ्नो शारीरिक बनोटको चर्चा गर्दै साम्पाङले विचार र दर्शनले मानिसको मूल्य निर्धारण हुनेतर्फ संकेत गरे। उनले भने, “हो म पुड्को छु तर मेरो बिचारले आकाश छोएको छ। हो म यस्तै छु।”
स्थानीय तहको राजनीतिमा स्पष्ट बोली र सादगीपूर्ण जीवनशैलीका कारण चर्चामा रहेका साम्पाङ सामाजिक मुद्दाहरूमा बेलाबेलामा यस्तो भावुक र सन्देशमूलक अभिव्यक्ति दिँदै आएका छन्।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया