काठमाडौं ।   नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित कांग्रेस नगर समितिको तेस्रो नगर सम्मेलनमा बोल्दै परियारले देउवा विधानतः लगातार दुई कार्यकालपछि पुनः उम्मेदवार बन्न नपाउने भएकाले सभापति पद छोड्ने तयारीमा रहेको जानकारी गराए।

advertisement

“पार्टी विधानअनुसार लगातार दुई कार्यकालसम्म मात्र सभापति बन्न पाइन्छ,” उनले भने, “सभापतिज्यू स्वयंले पनि सार्वजनिक रूपमा उम्मेदवारी नदिने बताएका छन्। त्यसैले कांग्रेसले अब नयाँ नेतृत्व पाउनेछ।”

त्यसै अवसरमा परियारले पार्टीको १५औं महाधिवेशन निर्धारित मितिमा सम्भव नहुने जनाउँदै, एक वर्षपछि सारिने जानकारी पनि दिए। “२०८२ मंसिरमा महाधिवेशन तय भए पनि समयसीमा चुनौतीपूर्ण भएकाले विधानअनुसार एक वर्ष पछि सार्न लागिएको हो,” उनले भने, “अब महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न हुनेछ।”

कार्यक्रममा कांग्रेस भक्तपुरका जिल्ला सभापति एवं सांसद दुर्लभ थापाले पनि आफूले विधानअनुसार दुई कार्यकाल पूरा गरिसकेको उल्लेख गर्दै आगामी महाधिवेशनमा उम्मेदवारी नदिने जनाए। तर उनले विधान संशोधन भएमा पुनः उम्मेदवारी दिन सक्ने संकेत गरे। “विधान संशोधन भए सभापतिको दौडमा म पनि सामेल हुन सक्छु,” थापाले भने।

कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र महाधिवेशनको समयबारे जारी बहसबीच आएको यो अभिव्यक्तिलाई भावी नेतृत्व संरचनाको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com