काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाका नेता शंकर लामाले शहीदहरूको सम्मानमा वर्गीय भेदभाव भइरहेको भन्दै भावुक गुनासो पोखेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित बोत्ले स्मृति दिवस कार्यक्रममा उनले नेताहरु पदका लोभी बनेको आरोप समेत लगाए।
२०५९ साउन १८ गते दोलखाको बोत्लेमा राज्यपक्षबाट मारिएका १४ जना कार्यकर्ताको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुँदै लामाले भने, “शहीद पनि वर्गीय हुन थाले—टाठाबाठा नेताका परिवार मारिँदा स्मृति दिवस मनाइन्छ, तर सामान्य कार्यकर्ताको बलिदानलाई बेवास्ता गरिन्छ।”
बोत्ले घटनामा आफ्नी पत्नी गुमाएका लामाले आँखा रसाउँदै पार्टी नेतृत्वमाथि गुनासो गरे। उनले पार्टीभित्रका गुट उपगुट, पदको मोह र कार्यकर्ताप्रति गरिएको बेवास्ताप्रति कडा असन्तोष व्यक्त गरे।
उनले शहीदहरूको विस्तृत अभिलेख तयार गरी देशव्यापी रूपमा स्मृति दिवस मनाउनुपर्ने धारणा राखे। “देशैभरका शहीदहरूको डकुमेन्ट बनोस्, ताकि शहीद तथा घाइते परिवारको मन शान्त होस् र पार्टी पनि सुदृढ होस्,” उनले भने।
पार्टीभित्रको गुटबन्दीले कार्यकर्ता र सर्वसाधारणलाई निराश तुल्याएको उनको भनाइ थियो। वर्तमान पार्टी संरचनाको आलोचना गर्दै उनले भने, “सात जना सचिव, उपमहासचिव र उपाध्यक्ष राख्नु आवश्यक छैन। हिजो त एक जना महामन्त्री हुँदा पनि पार्टी चलिरहेको थियो।”
उनले माओवादी जनयुद्धको सन्दर्भमा राज्यपक्षका हिंसात्मक कार्यलाई ओझेलमा पारेर माओवादीमाथि मात्रै दोषारोपण गरिएको गुनासो पनि गरे।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी थिए। उनले बोत्ले घटनाका शहीद परिवार तथा घाइतेलाई सम्मान गरेका थिए। सन् २००२ को उक्त घटनामा माओवादी कार्यकर्ताहरूमाथि रातको समयमा सुरक्षा निकायले घेरा हालेर हमला गरेको थियो।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया