काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई बदनाम गर्न “१७ हजार” को सन्दर्भलाई नियोजित रूपमा प्रयोग गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धको क्रममा भएका घटनालाई एकतर्फी रूपमा प्रस्तुत गरेर माओवादीलाई कलंकित बनाउन खोजिएको दाबी गरे।
“हामीलाई अझै पनि बदनाम गर्ने कसरत भइरहेको छ,” उनले भने, “१७ हजार भन्ने शब्द सुनिरहेका छौं, जुन हाम्रो आन्दोलनमाथि आक्षेप लगाउने नियोजित प्रयास हो।”
प्रचण्डले शहीद र बेपत्ता परिवारहरूका सपना पूरा गर्न माओवादी नेतृत्वबाट अपेक्षित रूपमा काम गर्न नसकेको स्वीकार गरे। उनले आन्दोलनका मूल्य र आदर्शप्रति पुनः प्रतिबद्ध हुँदै आफूहरू फेरि वर्गीय आधारमा संगठनसँग जोडिन थालेको जनाए।
“हामीले शहीदहरूलाई सम्मान गर्नुपर्ने तहमा कमजोरी ग-यौं,” उनले भने, “शहीद परिवारका पीडा, दुःख नजिकबाट बुझ्न सकेनौं। वर्गीय मुद्दा र विचारमा पनि त्रुटि भएका छन् भन्ने गम्भीर समीक्षा गरेका छौं। अब ती कमजोरी सच्याउँदै अगाडि बढिरहेका छौं।”
उनका अनुसार माओवादी पार्टीभित्र फेरि एकपटक नयाँ आन्दोलन र विद्रोहको सम्भावना जन्मिइरहेको छ। “महान् शहीदका सपना सम्झिँदै प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध संघर्ष गर्ने संकल्पसहित हामी अघि बढ्दैछौं,” प्रचण्डले भने।
साथै उनले माओवादी केन्द्रलाई विभाजन गर्न विभिन्न तह र माध्यमबाट षड्यन्त्र भइरहेको चेतावनी पनि दिए। “पार्टी फुटाउन अनेक प्रयत्न भइरहेका छन्, तर हामी संगठनात्मक एकता र वैचारिक स्पष्टताबाट ती प्रयास विफल पार्नेछौं,” उनले बताए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया