काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति गम्भीर असन्तुष्टि जनाउँदै नेतृत्वको कमजोरीका कारण माओवादीले जनसमर्थन गुमाएको दाबी गरेका छन्।
आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकमा धारणा राख्दै शर्माले २०६४ सालमा माओवादीले पाएको ३१ लाख मत प्रचण्डकै विचलनका कारण गुमेको टिप्पणी गरे। “वर्गप्रतिको प्रतिबद्धतामा विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,” शर्माले भने, “यी सबै कारणले जनमत घट्यो, अब त्यो फिर्ता ल्याउन सकिन्छ कि सकिँदैन भन्ने ठूलो प्रश्न हो।”
उनका अनुसार वैचारिक अस्पष्टता, संगठनभित्रको अराजकता, कार्यपद्धतिमा कमजोरी र केन्द्रीय मानसिकताले गर्दा माओवादी अहिले संकटमा छ। “पार्टी सञ्चालन विधिसम्मत छैन, संगठन स्वचालित छैन,” उनले भने, “नयाँ संविधान, परिवर्तित परिस्थिति अनुसार पार्टी पुनर्संरचना नहुँदा आजको अवस्था आएको हो।”
शर्माले स्थायी समिति बैठकमा विचार बहस, राजनीतिक स्पष्टता, विधिसहितको संरचना, स्वचालित कमिटी, उत्पादन र आत्मनिर्भर अर्थनीतिलाई मार्गदर्शक बनाउनुपर्ने आवश्यकता औंल्याए। यस्ता गम्भीर विषय समाधान गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनको भनाइ थियो।
उनले पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वको भावना बढाउन विशेष महाधिवेशन आजको अनिवार्य विकल्प भएको धारणा पनि राखे।
बैठकमा शर्माले देश र जनताको हितमा आफू आत्मालोचना मात्र होइन, आवश्यक परे कुनै पनि त्याग गर्न तयार रहेको जनाए। तर, त्यसका लागि अध्यक्ष प्रचण्ड पनि जिम्मेवारी लिनुपर्ने उनको अडान थियो। “म जुनसुकै त्याग गर्न तयार छु, तर अध्यक्षबाट उत्पन्न समस्याको जिम्मेवारी उहाँले लिनुपर्छ,” स्रोतले शर्माको भनाइ उद्धृत गर्दै जानकारी दियो।
शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक शनिबारसम्म चल्दा अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए। तर शर्माले नेतृत्वकै कमजोरीलाई मुख्य कारण ठहर गर्दै आत्मालोचनाको औचित्य अस्वीकार गरे।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया