काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बाबजुद भारतले रुसबाट कच्चा तेल आयात जारी राख्ने संकेत दिएको छ। भारतीय विदेश मन्त्रालयले रुससँगको सम्बन्धलाई ‘स्थिर र समयपरीक्षित’ बताउँदै तेस्रो पक्षको नजरले मूल्यांकन गर्नु अनुपयुक्त हुने प्रतिक्रिया दिएको हो।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा भारतको ऊर्जा नीति बजार उपलब्धता र विश्वव्यापी परिस्थितिमा आधारित रहेको स्पष्ट पारे। “हाम्रो दृष्टिकोण ऊर्जा सुरक्षासँग जोडिएको छ, जसमा विश्वव्यापी अवस्था र बजारको पहुँचले मार्गदर्शन गर्छ,” उनले भने।
ट्रम्पले भारतलाई रुसी तेल किन्न नछाडे अमेरिकाबाट हुने सामान निर्यातमा २५ प्रतिशत भन्सार शुल्क र थप आयात कर लगाउने चेतावनी दिएका थिए। ट्रम्पको यो अभिव्यक्तिलाई युक्रेन युद्धमा रुसप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। हालै उनले मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको चेतावनी पनि दिएका छन्।
भारतले सन् २०२२ को जनवरीमा रुसबाट प्रतिदिन ६८ हजार ब्यारेल तेल आयात गर्दै आएको थियो, जुन जुन महिनासम्ममा ११ लाख २० हजार ब्यारेल पुग्यो। सन् २०२३ मेमा भारतले प्रतिदिन २१ लाख ५० हजार ब्यारेल रुसी कच्चा तेल आयात गरेको थियो। आपूर्तिको यो स्तर त्यतिबेला भारतको कुल तेल आयातको करिब ४० प्रतिशत थियो, जसले रुसलाई भारतको प्रमुख आपूर्तिकर्ता बनायो।
प्रेस ट्रस्ट अफ इन्डियाले डाटा विश्लेषण कम्पनी ‘केप्लर’लाई उद्धृत गर्दै जनाएअनुसार भारतको दैनिक कच्चा तेल खपत ५५ लाख ब्यारेल रहेको छ, जसको झण्डै ८८ प्रतिशत हिस्सा आयातमार्फत पूर्ति गरिन्छ।
भारतले विगतमा आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट ल्याउँदै आएको थियो। तर सन् २०२२ फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएपछि पश्चिमी राष्ट्रहरूले रुसमाथि प्रतिबन्ध लगाएसँगै भारतले छुटमा पाइने रुसी तेलतर्फ आपूर्ति मोडेको हो। चीन र अमेरिकापछि विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले आफ्ना राष्ट्रिय हितअनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्न रणनीति अघि बढाउने स्पष्ट संकेत दिएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया