काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणसम्बन्धी प्रश्न उठाएकै कारण सजाय भोग्नुपर्ने हो भने त्यसका लागि आफू तयार रहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै शर्माले पार्टी फुट्ने अफवाह नेतृत्वकै कारण फैलिएको भन्दै त्यसको खारेजीमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
शर्माले आफूलाई पार्टीबाट धकेल्ने प्रयास भइरहे पनि माओवादी पार्टीमै अडिग रहने बताए। कतिपय स्थायी कमिटी सदस्यले उनलाई सचेत गराउनुपर्ने धारणा राखेको बैठकमा शर्माले भने, “मैले पार्टी निर्माणबारे प्रश्न उठाएँ। अरूले भित्रभित्रै यो पार्टी बन्छ/बन्दैन भन्दै हिंडे। तर प्रश्न उठाएकै आधारमा के सजाय भोग्नुपर्छ भने म तयार छु।”
उनले पछिल्लो निर्वाचनमा पार्टीको मत ३१ लाखबाट घटेर ११ लाखमा झर्नुमा आफ्नो कमजोरी भए आत्मालोचना गर्न तयार रहेको जनाए। तर यो दायित्व साझा भए अन्य नेतृत्व तहले पनि आत्मालोचना गर्नुपर्ने बताएका छन्।
शर्माले पार्टी समाजवादको दिशाबाट विचलित भई नवउदारवादको प्रवर्द्धनमा लागेको आरोप लगाए। अर्थमन्त्रीका रूपमा किसान पेन्सन, कृषि भोलिन्टियर तथा बाँझो जमिन उपयोगजस्ता कार्यक्रम ल्याइए पनि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा ती कार्यक्रम खारेज भएको उल्लेख गर्दै उनले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया