काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको नेतृत्वमा आधारित एकध्रुवीय उदारवादी विश्व व्यवस्था अब विघटनको चरणमा प्रवेश गरिसकेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकमा विश्व राजनीतिक परिदृश्यबारे विशेष छलफल भएको हो।

बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटाले हाल विश्व व्यवस्था बहुध्रुवीयतर्फ उन्मुख भइरहेको बताए। उनका अनुसार अमेरिकी डलरको एकाधिकार घट्दै गएको छ भने ब्रिक्स जस्ता विकल्पीय शक्ति संरचनाहरू अघि बढ्दैछन्। “जी-सेभेनको एकछत्र प्रभावलाई चुनौती दिने गरी २१ देशको नयाँ संगठनको उदय सराहनीय छ,” सापकोटाले भने।

advertisement

उनले चीन, रुस र भारतजस्ता देशहरू नयाँ विश्व शक्तिका रूपमा उदाउँदै गरेको र संयुक्त राष्ट्रसंघ जस्तो संस्था प्रभावहीन बन्दै गएको संकेत गरे। “अहिलेको विश्व सन्दर्भमा नेपालको भूमिका कमजोर देखिएको छ, जुन चिन्ताजनक छ,” उनले थपे।

बैठकले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली उपस्थिति कायम गर्न रणनीतिक रूपमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिएको सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले बदलिंदो वैश्विक शक्ति सन्तुलनलाई गम्भीर रूपमा विश्लेषण गर्दै त्यसअनुसार कूटनीतिक पहलहरू अगाडि बढाउन सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com