पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले घुससम्बन्धी विवादमा मुछिएका पार्टी सदस्य सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यता निलम्बन गरेको छ।

प्रदेश अध्यक्ष नवराज शर्माका अनुसार, सुजन लामा पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग मिलेर पोखरास्थित १३५ रोपनी लिची बगैँचा हडप्न घुस डिल गरेको आरोपमा निलम्बनमा परेका हुन्। गिरीमाथि भने आर्थिक लेनदेनमा संलग्न रहेको आरोप लागेपछि कारबाही गरिएको हो।

advertisement

“सुजन लामाले लिची बगैँचाको १३५ रोपनी घुस मार्फत हडप्ने प्रयास गरेकाले मन्त्रीले राजीनामा दिनुपर्‍यो, अर्का कर्मचारी के. गिरी पनि आर्थिक लेनदेनमा मुछिएकाले दुबै जनालाई निलम्बन गरिएको हो,” अध्यक्ष शर्माले बताए।

भूमि आयोग कास्कीका अध्यक्षका आकांक्षी खेम पुनलाई भने निलम्बन नगरिएको अध्यक्ष शर्माले स्पष्ट पारे। लिची बगैँचासम्बन्धी घुस प्रकरणमा खेम पुनले आफू अध्यक्ष बन्न २५ लाख रुपैयाँ घुस प्रस्ताव गरेको आरोप लागे पनि औपचारिक निर्णयबाट उनी अछुतो रहेका छन्।

एमाले गण्डकी सल्लाहकार परिषद्का सदस्य रहेका सुजन लामालाई यसअघि परिषद् संयोजक मोहन रेग्मीले स्पष्टीकरण सोधेका थिए। लामाले उक्त प्रकरणमा एआई (कृत्रिम बौद्धिकता) प्रविधिबाट बनाइएको अडियो हो भन्ने जवाफ दिए पनि पार्टीले अस्वीकार गर्दै जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरेको हो।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पार्टी दुबैले उनलाई छानबिन गरिरहेका छन्। दोषी देखिएमा पार्टीबाट पूर्णरूपमा निष्कासन गरिनेछ,” अध्यक्ष शर्माले चेतावनी दिए। “उहाँले प्रमाणसहित स्पष्टीकरण दिनुहुन्छ भने मात्रै समीक्षा हुन सक्छ,” उनले भने।

सरकारी कर्मचारी के. गिरीमाथि पनि आर्थिक लेनदेनमा संलग्न रहेको आरोप लागे पनि विस्तृत विवरण खुलाइएको छैन। अध्यक्ष शर्माले यो विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताए।

गण्डकी प्रदेश कमिटीको बैठकले पार्टीको विगतका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका लागि कार्ययोजना र बजेट पनि पारित गरेको छ। अध्यक्ष शर्माका अनुसार आगामी वर्षको लागि ७ करोडभन्दा बढीको बजेट पारित गरिएको छ, जसअनुसार पोखराको बुढीबजारमा प्रदेश कार्यालय भवन निर्माण गरिनेछ। कार्यालयका लागि आवश्यक जग्गा पार्टीले पहिले नै खरिद गरिसकेको जानकारी उनले दिए।

शनिबार सम्पन्न बैठकमा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरूङले पनि सम्बोधन गरेका थिए। उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुन: पार्टी प्रवेश नहुने धारणा राखेका थिए। साथै, पार्टीले पहिले लागु गरेको ७० वर्षे उमेर सीमा हटाउनुपर्ने विषयमा पनि उनीहरूले जोड दिएका थिए।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com