काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन सीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’माथि कडा आलोचना गरेका छन्।
आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा पासाङले नेता नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्मा ‘प्रभाकर’माथि टिप्पणी गरेपछि सुदर्शनले सामाजिक सञ्जालमार्फत उनको कडा प्रतिवाद गरेका हुन्।
सुदर्शनले लेखेका छन्, “विप्लव र जनार्दन शर्मालाई एउटै डालोमा हालेर तुलना गर्नु ठूलो भूल हो। तपाईंले प्रचण्डको सधैं चाकरी गरेर उपराष्ट्रपति बन्नुभयो। अहिले पनि उहाँप्रतिको निष्ठा राष्ट्रपति बन्ने आशामा जिउँदै छ।”
पूर्व उपराष्ट्रपति भएर पनि पासाङले आफ्नो गाउँमा एउटा बाटोसम्म बनाउन नसकेको भन्दै सुदर्शनले कटाक्ष गरेका छन्। तर, काठमाडौंको दहचोकमा उनले करोडौंको महल बनाएको आरोप पनि उनले लगाएका छन्।
सुदर्शन थप लेख्छन्, “यदि विप्लव कमरेडले तपाईंले जस्तो प्रचण्डको गुलामी गरेका भए, अहिलेसम्म दर्जनपटक मन्त्री बनिसक्नुभएको हुने थियो, काठमाडौंमा महल ठड्याइसक्नुभएको हुने थियो। तर उहाँले सिद्धान्त र आदर्शसँग सम्झौता गर्नुभएन।”
सुदर्शनले पासाङले गरेका टिप्पणीलाई ‘घटिया विश्लेषण’ भन्दै अस्वीकार्य ठहर गरेका छन्। उनका अनुसार, “विप्लव कमरेड जनयुद्धको आदर्शबाट विचलित नभई क्रान्तिकारी मार्गमा अडिग हुनुहुन्छ। उहाँमाथि लगाइएका आरोपहरू दुर्भाग्यपूर्ण र खारेजयोग्य छन्।”
बैठकमा पासाङले उपमहासचिव प्रभाकरमाथि टिप्पणी गर्दै जनयुद्धकालीन विचारधाराबाट अहिलेको प्रभाकर फरक देखिएको बताएका थिए। साथै, उनले माओवादी आन्दोलनमा सुरूदेखि नै अतिवादी प्रवृत्ति समस्याका रूपमा रहेको उल्लेख गर्दै, ‘पहिले त्यो प्रवृत्ति विप्लवमा देखिन्थ्यो, अहिले हाम्रो पार्टीभित्र पनि देखिएको छ,’ भन्ने टिप्पणी गरेका थिए।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया