काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हालको नेतृत्वको कमजोर व्यवस्थापनका कारण देशभर विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन्।

‘उज्यालो नेपाल अभियान’सहित अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग कुराकानी गर्दै भने, “विद्युत् उत्पादन पर्याप्त छ, तर व्यवस्थापन गर्न नसक्दा आपूर्ति प्रभावित भएको हो। अहिले देखिएको समस्या स्रोतको अभाव होइन, व्यवस्थापनको असफलता हो।”

advertisement

उनका अनुसार, प्राधिकरणमा नयाँ नेतृत्व आएपछि योग्य र अनुभवी कर्मचारीहरूलाई ‘कुलमानका मान्छे’ भन्दै जिम्मेवारीबाट हटाउन थालियो। “विद्युत् प्रणाली सञ्चालन गर्ने जस्तो संवेदनशील स्थानमा काम गरिरहेका व्यक्तिलाई हटाइयो, तर पछि अवस्था बिग्रिएपछि पुनः उही व्यक्तिलाई फर्काउनुपर्ने स्थिति आयो,” उनले भने।

एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनाको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर आयोजनालाई अन्यौलमा पारेको आरोप पनि उनले लगाए।

घिसिङले आफू कार्यकारी निर्देशक रहँदा घाटमा रहेको प्राधिकरणलाई नाफामा ल्याएको, लगभग सबै घरमा विद्युत् पुर्‍याएको र लोडसेडिङको समयमा डिडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् लिएका उद्योगहरूसँगको बक्यौता उठाउने प्रयास गरिरहेकै अवस्थामा सरकारले आफूलाई अपमानजनक तरिकाले हटाएको गुनासो गरे।

उनका अनुसार, लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दा प्राप्त भएको उपलब्धि हो। उक्त उपलब्धि तत्कालीन प्रधानमन्त्री, ऊर्जामन्त्री, प्राधिकरणका कर्मचारी, आम उपभोक्ता र विदेशमा रहेका नेपालीहरूको साथ र सहयोगका कारण सम्भव भएको घिसिङको भनाइ छ।

‘देशभित्रै पनि धेरै कुरा गर्न सकिन्छ’ भन्ने आत्मविश्वास फैलाउन ‘उज्यालो नेपाल अभियान’ सुरु गरिएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई अभियानमा जोडिन आह्वान गरे।

यसअघि उनले बहराइन, ओमान, युएई र कतारजस्ता मध्यपूर्वी मुलुकहरूको भ्रमण गरी त्यहाँ रहेका नेपालीहरूसँग भेटघाट गरेका थिए।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com