काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष पदमा मनोनीत गर्दै पार्टीको छैटौं वरीयतामा राखेको छ। सक्रिय राजनीतिमा पुनः फर्किएका पुनको नाम हालै माओवादी केन्द्रको आधिकारिक वेबसाइटमा छैटौं स्थानमा उल्लेख गरिएको हो।
पूर्वउपराष्ट्रपति पुनलाई माओवादी राजनीतिमा पुनः सक्रिय गराउने मुख्य भूमिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेका हुन्। यद्यपि उपराष्ट्रपति जस्तो उच्च पदमा रहीसकेका व्यक्तिलाई फेरि दलको संगठनात्मक भूमिकामा ल्याउनु नपर्ने भन्ने धारणा पार्टीभित्र केही नेताहरूको रहेको थियो। त्यसको बाबजुद, पार्टी नेतृत्वले उनलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ।
हाल माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ र सो बैठकमा उपाध्यक्ष पुन पनि सहभागी छन्। माओवादीले हाल सार्वजनिक गरेको पदानुक्रमअनुसार अध्यक्षमा प्रचण्ड, त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, र उपाध्यक्षहरू क्रमशः कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल रहेका छन्। त्यसपछि पूर्वउपराष्ट्रपति पुनको स्थान रहेको छ।
पुन राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकालका दुई अवधिसम्म उपराष्ट्रपति रहेका थिए। अब भने उनी फेरि पूर्णकालीन पार्टी राजनीतिमा सक्रिय हुँदै माओवादीको उच्च नेतृत्वको हिस्सा बनेका छन्।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया