काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक असमझदारी चुलिँदै जाँदा असन्तुष्ट समूहले छुट्टै बैठक बसेको छ। सोमबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा राप्रपाको इतर समूहका नेताहरूले वर्तमान नेतृत्वको कार्यशैलीबारे गम्भीर छलफल गरेका हुन्।

अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरिरहेको आरोप लगाउँदै इतर समूहले नेतृत्वविरुद्धको रणनीति तय गर्न बैठक आयोजना गरेको हो। बैठकमा केन्द्रीय पदाधिकारीहरू, विभिन्न प्रदेश अध्यक्षहरू र अन्य वरिष्ठ नेतासहित करिब ७० जना सहभागी भएका छन्।

advertisement

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पूर्व उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती कुमारी शाही, बागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्य जगत गौचन, पदमुक्त प्रवक्ता सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक प्रवक्ता प्रवीण कुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्र बहादुर शाहलगायत नेताहरू बैठकमा सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष लिङ्देनको पछिल्लो निर्णयहरू, विशेषतः अनुशासन समिति अध्यक्ष नवराज सुवेदीसहित केही पदाधिकारीहरूलाई पदमुक्त गर्ने कार्यप्रति असन्तोष व्यक्त गरिएको थियो। इतर समूहले अब पार्टीभित्र लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्न दबाबमूलक रणनीति अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com