काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रयोग गरेको अमर्यादित शब्दप्रति आत्मालोचना गरेकी छन्।

पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको असार १५ गते लुम्बिनीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालप्रति गरिएको आलोचनामा असावधानीपूर्वक अभिव्यक्ति दिएको स्वीकार गर्दै झाँक्रीले ती शब्दहरू फिर्ता लिएकी हुन्।

advertisement

“शब्द चयनमा मसँग चुक भयो,” झाँक्रीको आत्मालोचनामा उल्लेख छ, “असावधानीपूर्वक प्रयोग भएको उक्त शब्द फिर्ता लिन्छु।”

एकीकृत समाजवादीका एक नेताका अनुसार, झाँक्रीले पार्टीद्वारा तोकिएको सात दिनको समयसीमाभित्रै आत्मालोचना पत्र लेखी महासचिवलाई बुझाइसकेकी छन्। “पार्टीको मुख्य आपत्ति विषयवस्तुमा नभई प्रयोग गरिएका शब्दहरूमा थियो,” ती नेताले भने, “उहाँले ती शब्द फिर्ता लिनु भएको छ र आत्मालोचना पेस गर्नु भएको छ।”

यसअघि झाँक्रीले लुम्बिनीको भेलामा अध्यक्ष नेपालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको प्रसङ्ग उठाउँदै भनकी थिइन्, “पार्टी संकटमा छ, र त्यो संकट अध्यक्षकै कारण आएको हो। अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिन्न। अर्ली महाधिवेशन गरौँ, पुनर्गठन गरौँ र नयाँ नेतृत्व बनाऔँ।”

उक्त अभिव्यक्तिले पार्टीभित्र चर्को असन्तोष सिर्जना गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप पार्टीले झाँक्रीलाई असार २६ गतेभित्र आत्मालोचना गर्न निर्देशन दिएको थियो।

झाँक्रीको अभिव्यक्तिको पृष्ठभूमिमा जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको विषय थियो। तत्कालीन प्रधानमन्त्रीका हैसियतले हदबन्दी छुटको नाममा सरकारी जग्गा सट्टापट्टा गर्न भूमिका खेलेको आरोपमा नेपालविरुद्ध मुद्दा दायर गरिएको थियो।

पार्टीभित्रको आन्तरिक अनुशासनलाई लिएर आएको विवाद अब झाँक्रीको आत्मालोचनासँगै केही थामिने संकेत देखिएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com