काठमाडौं । मनसुन सक्रिय भई देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मंगलबार गृहमन्त्रालयमा उच्चस्तरीय आपत्कालीन बैठक बोलाएका छन्। बैठकमा सिंहले सबै सम्बन्धित सरकारी निकायहरूलाई उच्च सतर्कता अपनाउन र हाइअलर्टमा रहन निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालयमा बसेको उक्त बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख दिनेश भट्ट, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, र अन्य सरोकारवाला अधिकारी सहभागी थिए।
कार्यवाहक प्रधानमन्त्री सिंहले संभावित जोखिमयुक्त क्षेत्रहरूमा एसएमएस अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायहरूमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। साथै, विपद् आइपरेमा तत्काल खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारी अवस्थामा बस्न आदेश दिए।
बैठकमा प्राधिकरणका प्रमुख भट्टले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय रहेको र बबई तथा राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेको जानकारी गराएका थिए। बर्दियामा ४–५ घण्टाभित्र डुबानको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।
त्यस्तै, मधेस प्रदेशमा खडेरीको अवस्था देखिए पनि हाल हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जानकारी दिइयो। मकवानपुरमा पनि पानी पार्ने प्रणाली सक्रिय हुनसक्ने पूर्वानुमान गरिएको छ।
बैठकमा गृहमन्त्री लेखकले सभी प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्थानीय तहका प्रशासकीय प्रमुखहरूलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको जानकारी गराए।
प्रधानमन्त्री सिंहले मनसुनजन्य विपद्को जोखिम उच्च रहेकाले धनजनको क्षति रोक्न सम्पूर्ण सरकारी संयन्त्रलाई सक्रिय र समन्वित रूपमा तयारी अवस्थामा रहन स्पष्ट निर्देशन दिएका छन्।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया