काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई ध्यानमा राख्दै देशभरका सरकारी निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालयमा आज आयोजित विशेष बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल, तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित उच्चस्तरीय अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा देशभर फैलिएको मनसुनजन्य प्रभाव तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले जोखिम न्यूनीकरण, पूर्वसूचना तथा उद्धार कार्यका लागि ‘हाइअलर्ट’ मा रहन सम्बन्धित निकायलाई निर्देशन दिए।
सिंहले जोखिमयुक्त क्षेत्रहरूमा SMS अलर्ट, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन जोड दिएका छन्। साथै, विपद् घटेमा क्षति न्यून गर्ने रणनीतिमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बैठकमा लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा भारी वर्षा गराउने प्रणाली सक्रिय रहेको जानकारी दिए। उनले बबई र राप्ती नदीको पश्चिम क्षेत्रमा खतराको तह पार भइसकेकोले बर्दिया क्षेत्रमा आगामी ४–५ घण्टाभित्र डुबानको उच्च सम्भावना रहेको चेतावनी दिएका छन् ।
बैठकमा मधेस प्रदेशमा देखिएको खडेरीको अवस्था पनि छलफलमा परेको थियो । प्रधानमन्त्री सिंहले त्यसप्रति चासो व्यक्त गर्दा प्रमुख भट्टले मधेसमा हाल हल्का वर्षा भइरहेको र करिब ८० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जानकारी गराए ।
त्यस्तै, आज राति सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको तथा मकवानपुरमा पनि मनसुन सक्रिय हुने पूर्वानुमान रहेको जानकारी बैठकमा दिइयो ।
गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख तथा स्थानीय तहका प्रशासकीय प्रमुखहरूलाई आवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन दिइएको बताए ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया