काठमाडाैं । तुर्कमेनिस्ता भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन आजदेखि तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ। सम्मेलन २३ अगस्तसम्म चल्नेछ।
सम्मेलनको उद्घाटन समारोहमा तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको स्वागत गरेका थिए। कार्यक्रम आवाजास्थित स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न भएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित राष्ट्रहरूले अन्तर्राष्ट्रिय बजारसम्म सहज पहुँच बनाउने चुनौती सामना गरिरहेको उल्लेख गर्दै त्यसका समाधानका लागि विश्व समुदायको सहकार्य अपरिहार्य रहेको बताए। उनले साझेदारी, सहयोग र समन्वयमार्फत यी मुलुकहरूको आर्थिक तथा भौगोलिक कठिनाइ समाधान गर्न आह्वान गरे।
त्यसैगरी, तुर्कमेनिस्तानका राष्ट्रपति सर्दार बेरदिमुहामेदोभले दक्षिण-दक्षिण सहयोग, संसदीय संवाद, युवा र नागरिक समाजको सक्रिय सहभागितामार्फत LLDCs ले सामना गरिरहेका सामाजिक तथा आर्थिक चुनौती समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटन सत्रमा मन्तव्य दिंदै भूपरिवेष्टित राष्ट्रहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए।
सम्मेलनको मुख्य ‘प्लेनरी’ सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरु भइसकेको छ। उक्त सत्रमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन्। प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालका तर्फबाट मात्र नभई अल्पविकसित मुलुकहरूको (LDC) साझा प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम छ।
यात्राका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका समेत रहेको छ।
समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा अन्तर्राष्ट्रिय व्यापार, पूर्वाधार विकास र आर्थिक गतिविधिमा चुनौतिहरू झेलिरहेका LLDCs का लागि तेस्रो सम्मेलन विशेष महत्वको रूपमा हेरिएको छ।
प्रधानमन्त्री ओलीसँग भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सांसद सूर्यबहादुर थापा क्षेत्री, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्यासिंह शाह तथा परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सहभागी छन्।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया