काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिनको माग सुनुवाइ नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

बैठक सुरु भएलगत्तै दुवै पार्टीका सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विराजभक्त श्रेष्ठलाई बोल्न समय दिए। श्रेष्ठले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि समिति गठनको माग गर्दै सरकारले गम्भीरता नदेखाएको आरोप लगाए। “सरकार मौन छ, मागअनुसार समिति बनाइएको छैन, हामी विरोध गर्न बाध्य छौँ,” उनले भने।

advertisement

श्रेष्ठले मन्त्रीहरू विभिन्न विवादमा मुछिएको भन्दै त्यसमा पनि छानबिन हुनुपर्ने मागसमेत राखे। उनका अनुसार, जबसम्म माग सम्बोधन हुँदैन, तबसम्म विरोध कायमै रहनेछ।

त्यसपछि बोल्न समय पाएका राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि भिजिट भिसा प्रकरणमा पटकपटक आवाज उठाए पनि सरकारले बेवास्ता गरेको गुनासो गरे। उनले भने, “समिति नबनाइएसम्म हाम्रो विरोध जारी रहन्छ। हामी बहिष्कार गर्छौं, र त्यस दिनको भत्ता समेत नलिनेछौं।”

दुवै पार्टीका सांसदहरूले आफ्ना धारणा राखेपछि उनीहरू बैठक कक्षबाट बाहिरिए। भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आएको रास्वपा र राप्रपाले यसअघि पनि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए। अब भने ती दलहरूले छानबिन नभएसम्म बहिष्कार जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com