काठमाडौं । राप्रपाकी सांसद तथा ‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि गठित विशेष समितिकी सदस्य रोशन कार्कीले ठूला दलहरूको प्रभावका कारण समितिको प्रतिवेदन अपेक्षित रूपमा आउन नसकेको आरोप लगाएकी छन्।
मंगलबार विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलहरूको दम्भले निष्पक्ष र प्रभावकारी प्रतिवेदन तयार पार्न नसकिएको बताइन्।
“नैतिकता भन्ने एउटा सामान्य शब्द प्रयोग गर्नसम्म दुई दिन लाग्यो,” कार्कीले भनिन्, “ठूला दलहरू यो शब्द प्रयोग गर्न डराइरहेका थिए। अन्ततः माओवादी, रास्वपा र राप्रपाको कडा दबाबपछि मात्रै उक्त शब्द प्रतिवेदनमा समावेश गरियो।”
उनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि पनि औंलो उठाउँदै भने, “कांग्रेस नेतृत्व र केही कर्मचारीको दबाबमा खतिवडाले कुलिङ अफ पिरियडमा चलखेल गरेको देखिन्छ।”
कार्कीले प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म कमजोर भएको र यसले संसदकै मर्यादामाथि प्रश्न उठाउने खतरा रहेको जनाइन्।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया