काठमाडाैं । बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार बानियाँलाई प्रदेश सरकारको नेतृत्व सुम्पिएका हुन्।
बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदहरूको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए। बागमती प्रदेशसभामा बहुमतको लागि आवश्यक ५६ मतभन्दा धेरै समर्थन जुटाएको आधारमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
प्रदेशसभामा कुल ११० जना सांसद छन्, जहाँ माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन्।
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालीसकेका छन्।
बानियाँ मकवानपुरबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्। उनी नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति पनि हुन् र कम्युनिस्ट पार्टीको परम्परागत गढ मानिएको मकवानपुरबाट प्रत्यक्ष चुनाव जित्ने पहिलो कांग्रेस नेता हुन्।
निर्माण व्यवसायमा सक्रिय बानियाँको राजनीतिक यात्रा लामो छ। २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका उनले केन्द्रमा गृहमन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
संघीय संरचना लागू भएपछि उनी प्रदेश राजनीतिमा सक्रिय भए। २०७४ को प्रदेशसभा निर्वाचनमा विजयी भएका उनी नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताका रूपमा पनि अगाडि बढे। यद्यपि, अघिल्लो कार्यकालमा मुख्यमन्त्री बन्ने प्रयास असफल भएको थियो।
हालैसम्म बानियाँ आफ्नै पार्टीका बहादुरसिंह लामासँग दलको नेताका लागि प्रतिस्पर्धामा पराजित भएका थिए। तर २१ जना सांसदको समर्थनमा अविश्वास प्रस्ताव ल्याएर लामालाई हटाइएपछि, बानियाँले दलको नेतृत्व फिर्ता पाए। त्यसपछि उनले मुख्यमन्त्री बन्ने बाटो खोले।
अघिल्लो आइतबार लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि, सोमबार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। बानियाँले करिब आधा घण्टामै बहुमतसहितको समर्थन बुझाएर सरकार गठनको दावा गरेका थिए।
कांग्रेस र एमालेबीच एक वर्षअघि भएको सहमति अनुसार, दुबै दलले २०–२० महिना सरकारको नेतृत्व गर्ने तय भएको थियो। सोही सहमतिअनुसार बानियाँले आगामी फागुनसम्म सरकारको नेतृत्व गर्नेछन् र त्यसपछि एमालेलाई सत्ताको बागडोर हस्तान्तरण गरिनेछ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया