काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सप्तरीको कञ्चनपुरस्थित पूर्वमन्त्री जयप्रकाश गुप्ताको निवासमा हतियारधारी समूहले गरेको आक्रमणप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको संसद् बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले गणतन्त्रको सरकारमा मन्त्रीसमेत भइसकेका व्यक्तिको घरमा हतियारधारी समूहले धावा बोल्नु गम्भीर विषय भएको बताए।
“राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा हो – त्यो जोसुकै होस्,” सांसद सिंहले भने, “तर दुई दिन लगातार हतियारधारी समूह पूर्वमन्त्री गुप्ताको घर पुगेर आतङ्क मच्चाउँछ, उनी घरमा नभएको संयोगमा ज्यान जोगिन्छ, तर घरमा रहेका कामदार कुटिन्छन् – अनि राज्य चुपचाप बस्छ, यो संवेदनहीनता हो।”
उनका अनुसार करिब १०–१२ जनाको सशस्त्र समूहले रातको समयमा गुप्ताको घरको ढोका बन्द गराएर झ्यालबाट पेस्तोल देखाउँदै कामदारलाई ढोका खोल्न बाध्य बनाएको थियो। त्यसपछि कामदारमाथि हातपात गर्दै ‘जयप्रकाश कहाँ छन्?’ भनेर खोजी गरिएको थियो।
सिंहले यस्तो गम्भीर घटनामा प्रहरी प्रशासनले न उजुरी लिन खोजेको न त कारबाही प्रक्रिया अघि बढाएकोप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले प्रश्न गर्दै भने, “जब पूर्वमन्त्रीहरू नै असुरक्षित छन् भने सर्वसाधारण कसरी सुरक्षित रहन सक्छन्?”
उनले अहिलेको गृहमन्त्रीको कार्यकालमा तस्करीको दर झनै बढेको र यसले मधेसमा अराजकता निम्त्याएको आरोपसमेत लगाए। “इजी मनीले अराजकता जन्माउँछ, र त्यो इजी मनी तस्करीबाट आउँछ। यस्तो अराजकता विगतमा थिएन,” सांसद सिंहले भने।
उनले सरकारसँग तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र नागरिकको सुरक्षामा गम्भीर बन्न आग्रह गरे।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया