काठमाडौँ । संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटिबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सम्बद्ध निकायहरूबाट गम्भीर लापरबाही भएको निष्कर्ष सार्वजनिक गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन प्रस्तुत गर्दै सभापति जीवन परियारले विधेयकको मस्यौदा तयार पार्ने क्रममा विधायन प्रक्रियाको मूलभूत मान्यता र जिम्मेवारी पालना नभएको स्पष्ट पारे।
सभापति परियारले प्रतिवेदनका निष्कर्षहरू सुनाउँदै भने, “विधेयक मस्यौदामा दफावार छलफल गहिरो रूपमा गरिएको पाइएन। परिमार्जनपछिको अन्तिम प्रतिवेदन सभामा प्रस्तुत गर्नु अघि समितिका सदस्यहरूले न त समीक्षा गरे, न छलफल भयो।”
प्रतिवेदन अनुसार, मस्यौदामा भएका परिमार्जन र मूल विधेयकबीच समन्वय गर्ने प्रक्रिया समेत स्पष्ट थिएन। कार्यमा संलग्न निकायहरू वा व्यक्तिहरूले आफ्नो जिम्मेवारी ठीकसँग पूरा नगरेको र यही कारण विधेयकको कानुनी तादम्यता गुमेको ठहर समितिले गरेको छ।
विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी विवाद उब्जिएपछि असार २३ गते सात सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठन भएको समितिमा सत्तापक्ष र विपक्षी दलका सदस्यहरू सहभागी थिए।
समितिले एक महिनाभन्दा बढी समयसम्म छलफल, अध्ययन र सरोकारवालासँग परामर्श गरी प्रतिवेदन तयार पारेको हो ।
प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया