काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारले दलाल संरचनालाई ढाकछोप गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको आरोप लगाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले सरकार ‘भिजिट भिसा’ प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन योजनाबद्ध रूपमा लागिपरेको बताएका हुन्।

advertisement

उनले भने, “भिजिट भिसा प्रकरण कुनै व्यक्तिगत भूल वा प्रशासनिक त्रुटि होइन। यो राज्यसत्ता संरक्षणमा सञ्चालित योजनाबद्ध र संगठित दलाल संरचनाको भयावह रूप हो। यसले मुलुकको कानुनी शासन र न्याय प्रणालीलाई नै चुनौती दिएको छ।”

श्रेष्ठका अनुसार यो काण्डको जरा कति गहिरो छ भन्ने प्रश्न आज हरेक नेपालीको मनमा उठेको छ। तर सरकारले अहिलेसम्म यो विषयमा सत्य बाहिर ल्याउन चासो नदिएको आरोप पनि उनले लगाए।

“सरकार सत्य लुकाउँदै दलाल संरचनाको ढाकछोप गर्न तल्लीन छ। यस्तो अवस्थामा हामी चुप लाग्न सक्दैनौं,” उनले चेतावनी दिए।

श्रेष्ठले भिजिट भिसा प्रकरणमा गठन गरिएको हालको अनुसन्धान समिति ‘टालटुले’ मात्र भएको टिप्पणी गरे। “हाम्रो दृष्टिमा यो समिति समस्याको सारमा पुग्न सक्ने क्षमता नै राख्दैन। अब न्यायिक आयोग वा संसदीय छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नु आवश्यक छ,” उनले जोड दिए।

उनले चेतावनी दिँदै भने, “जबसम्म दोषीमाथि चित्तबुझ्दो कारबाही अगाडि बढ्दैन, हाम्रो आन्दोलन रोकिँदैन।”

रास्वपाले यसअघि पनि भिजिट भिसा प्रकरणमा निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै सडकदेखि संसदसम्म आन्दोलन गर्दै आएको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com