पर्सा । पर्सा प्रहरीले एक महिलालाई अपहरण गरी बन्धक बनाएर सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, पक्राउ परेकामध्ये ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी वीरगञ्ज निवासी हुन्। नेक महमद एक मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब सोही वर्कशपमा काम गर्ने कर्मचारी हुन्।
घटना वैशाख २० गतेको हो। पीडित महिला आफ्नो घर नजिकै बाख्रा बाँधेर फर्किने क्रममा उनीमाथि आक्रमण भएको थियो। दुई युवकले बाटोमै घेरा हालेर उनलाई नियन्त्रणमा लिई जबरजस्ती नजिकैको होटलमा लगेका थिए।
प्रहरीका अनुसार, ती महिलाको आँखामा कालो पट्टी बाँधिएको थियो र मुखमा कपडाको बुजो हालिएको थियो। त्यसपछि उनीमाथि सामूहिक बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वैशाख २३ गते बिहान पीडित महिला घाइते र रगताम्मे अवस्थामा पर्साको घडिअर्वा पोखरी नजिकको गल्लीमा फेला परेकी थिइन्। त्यसपछि उनले प्रहरीसमक्ष अपहरण, शरीर बन्धक र बलात्कारको जाहेरी दिएकी थिइन्।
प्रहरीले उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै वीरगञ्ज–१५ स्थित प्रतिमा चोकबाट आरोपित दुई जनालाई पक्राउ गरेको हो। हाल उनीहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखी थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया