काठमाडाैं। हालैका दिनमा रुससँग कच्चा तेल किन्ने विषयमा भारतलाई लगातार आलोचना गर्दै आएको अमेरिकाले आफैं रुसबाट रसायन र कृषि मल आयात गरिरहेको खुलासा भएपछि विषयमा नयाँ मोड आएको छ।
ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा जब भारतीय समाचार संस्था एएनआईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई “अमेरिकाले रुसबाट रसायन र किटनाशक औषधि आयात गर्छ?” भनेर प्रश्न गर्यो, ट्रम्पले भने, “मलाई यसको बारेमा केही जानकारी छैन। हामी यसबारे अनुसन्धान गर्नेछौँ।”
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पको यो जवाफ एएनआईले राष्ट्रपति प्रेस टोलीलाई सोधपुछ गरेपछि आएको हो, तर विस्तृत प्रतिक्रिया अझै नआएको उल्लेख गरिएको छ।
ट्रम्पले केही दिनअघि भारतले रुसबाट ठूलो मात्रामा कच्चा तेल किनेर अन्तर्राष्ट्रिय बजारमा महँगोमा पुनः बिक्री गरी नाफा कमाइरहेको आरोप लगाएका थिए। साथै, उनले भारतबाट अमेरिका निर्यात हुने सामानहरूमा आयकर (ट्यारिफ) बढाउने चेतावनीसमेत दिएका थिए।
“उनीहरूलाई (भारतलाई) युक्रेनमा रुसी युद्ध मेसिनले कति निर्दोष मानिसहरू मार्दैछ भन्ने कुनै मतलब छैन,” ट्रम्पले भनेका थिए, “त्यसैले अब भारतले अमेरिकी बजारमा पठाउने सामानहरूमा उल्लेख्य ट्यारिफ वृद्धि गरिनेछ। यो विषयमा ध्यान दिनुभएकोमा धन्यवाद।”
उनको यस्तो भनाइप्रति भारतले कडा आपत्ति जनाउँदै राजनीतिक र कूटनीतिक तहमा त्यसको समीक्षा भइरहेको जनाएको छ।
भारतले अमेरिकी आरोपको प्रतिवाद गर्दै रुससँगको व्यापार केवल ऊर्जा सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको स्पष्ट पार्दै सोधे– “अमेरिका आफैंले रुसबाट मल र रसायन किनिरहेको विषयमा कसरी जवाफ दिन्छ?”
रुसी तेलको विषयलाई लिएर उत्पन्न भएको अमेरिका–भारतबीचको यो तनावले दुवै मुलुकबीचको व्यापार सम्बन्धमा नयाँ तरंग ल्याएको छ। अब यस विषयमा आगामी दिनमा दुई देशबीचको कूटनीतिक समन्वय कति प्रभावकारी हुन्छ भन्ने प्रतीक्षा गरिनुपर्ने देखिन्छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया