काठमाडौं । निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादित हेरफेर प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारीस्वरूप पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार हिजो बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। संसदीय छानबिन समितिले पेश गरेको प्रतिवेदनमा खतिवडाले विधेयकमा भएको विवादास्पद हेरफेरमा समुचित समन्वय गर्न नसकेको उल्लेख गरिएको छ।
सचिवालय बैठकमा रास्वपाभित्र पनि कुलिङ अफ पिरियड सम्बन्धी प्रावधान थप कडा बनाउने प्रस्ताव उठेको छ। सरकारी सेवाबाट निवृत्त भएको कम्तीमा दुई वर्षसम्म कुनै व्यक्तिलाई पार्टी सदस्य नबनाउने व्यवस्था पार्टीको विधानमा समावेश गर्ने प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए।
उनका अनुसार, ‘समयाभावका कारण बैठकमा यो विषयमा विस्तृत छलफल हुन सकेन। अर्को बैठकमा गहन छलफल गरी विधान संशोधन गरिनेछ।’
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायत उच्च संवैधानिक पदमा रहेका व्यक्तिहरूलाई पार्टी सदस्यता नदिने प्रस्तावसमेत छलफलमा परेको छ। पार्टीको गैरपारम्परिक र संस्थागत हैसियतलाई कायम राख्न यस्तो व्यवस्था आवश्यक भएको धारणा बैठकमा व्यक्त गरिएको थियो।
त्यसैगरी बैठकले रुपन्देहीमा हुने उपनिर्वाचनमा भाग लिन चाहेकिएकी रास्वपाकी समानुपातिक सांसद कुसुम महर्जनको सांसद पदबाट राजीनामासम्बन्धी निवेदनलाई स्वीकृति दिएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया