काठमाडाैं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएपछि तनाव चुलिएको छ। घटनापछि आक्रोशित स्थानीयले राजविराजमा प्रदर्शन गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रदर्शनकारीले मृतकका परिवारको अगुवाइमा राजविराजमा सडक अवरुद्ध गर्दै टायर जलाएर विरोध जनाइरहेका छन्। उनीहरूले दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीय प्रशासनमाथि दबाब सिर्जना गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार तस्करी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोली र स्थानीयबीच राति झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर ३६ वर्षीय स्थानीय लालु यादव घाइते भएका थिए।
गम्भीर घाइते यादवलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ल्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डीएसपी बस्नेतले यादवको बायाँ तिघ्रामा गोली लागेको पुष्टि गरेका छन्।
प्रहरी र स्थानीयबीचको झडपमा एक जना प्रहरी पनि घाइते भएका छन्। त्यस्तै, तस्करीका लागि भारततर्फ लैजाँदै गरिएको केही कार्टुन मदिरा पनि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।
झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र सहायक हवल्दार सिकेन्द्र थारु पनि घाइते भएको पुष्टि गरिएको छ।
सप्तरीमा तस्करी नियन्त्रण र सुरक्षा चुनौतीसँगै उत्पन्न तनावले स्थिति अझ संवेदनशील बनेको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान अघि बढाइसकेको जनाएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया