काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनबिना पारित हुने गम्भीर जोखिम देखिएपछि व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न बाध्य भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीले एमसीसीबारे सुरुदेखि नै गहिरो अध्ययन र बहस गरेको बताएका हुन्।

advertisement

उनका अनुसार नेकपाको तत्कालीन स्थायी समितिले एमसीसी अनुमोदन गर्न नहुने निष्कर्षसहित कार्यदलको प्रतिवेदन प्राप्त गरेको थियो। “बाहिर प्रचारमा आइसकेको थियो कि नेपाल आइपीएसमा सहभागी भइसकेको छ,” उनले भने, “तत्कालीन परराष्ट्रमन्त्रीले अस्वीकार गरे पनि अमेरिकाले नै सहभागी राष्ट्र घोषणा गरेपछि भ्रम स्पष्ट भयो।”

प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले दुवैले एमसीसी जस्ताको तस्तै पारित गराउन जोड दिएको दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान कांग्रेसभन्दा पनि कडा रहेको उल्लेख गर्दै उनले भने, “संशोधन सम्भव नदेखिएपछि हामीले व्याख्यात्मक टिप्पणीसहित पारित गर्‍यौं।”

उनले माओवादी केन्द्रले एमसीसी र इन्डो–प्यासिफिक स्ट्राटेजी (IPS) का सन्दर्भमा सबैभन्दा स्पष्ट अडान राखेको दाबी गर्दै, व्याख्यात्मक टिप्पणीलाई भविष्यमा हुने सम्भावित दुरुपयोगविरुद्ध आन्दोलनको आधारको रूपमा प्रयोग गर्न सकिने बताए।

पुस्तक विमोचन कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरू, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com