काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना यथास्थितिमा संसदबाट पारित हुन नदिन माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत पार्टीका नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले एमसीसीको अनुमोदन सजिलो थिएन, बरु ठूलो संघर्ष र विवादका बीच संसदबाट व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको स्मरण गरे।

advertisement

उनका अनुसार एमसीसी अध्ययनको प्रारम्भिक चरणमा नेकपाको नेतृत्वमा सरकार थियो भने, अनुमोदनको समय कांग्रेसको नेतृत्वमा सरकार रहेकाले प्रक्रिया थप जटिल बनेको थियो।

‘एमसीसी प्रस्ताव जस्ताको तस्तै पारित गर्न नहुने निष्कर्षसहित हाम्रो पार्टीले अध्ययन कार्यदल बनाएको थियो,’ प्रचण्डले भने, ‘कार्यदलले त्यसबारे प्रतिवेदन दिएको थियो र त्यसले एमसीसीलाई यथास्थितिमा स्वीकार गर्न नहुने ठहर गर्‍यो। त्यतिबेला आइपीएस र एसपीपीसँग जोडिएको भन्दै गम्भीर छलफल भएको थियो।’

उनले थपे, ‘त्यति बेलाको नेकपाभित्रै ठूलो मतभेद थियो। तर माओवादीले त्यसलाई नेतृत्व गर्दै एमसीसीको मूल स्वरूप परिवर्तन गराउन जोड दियो।’

प्रचण्डका अनुसार अन्ततः कांग्रेस नेतृत्वको सरकारमा सहभागी रहँदासमेत माओवादीले एमसीसी बिना संशोधन अनुमोदन भए सरकारमै बस्न नसकिने अडान स्पष्ट रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो।

‘यदि व्याख्यात्मक टिप्पणीसहित पनि पारित गर्न सकिन्न भने, हामी एमालेलाई एकल समर्थन गरेर सरकार चलाउने निष्कर्षमा समेत पुगेका थियौं,’ उनले बताए, ‘कांग्रेस जसरी पनि एमसीसी पास गराउने अडानमा थियो भने हामी त्यसको विरुद्ध दृढरूपमा उभिएका थियौं।’

उनका अनुसार एमसीसीजस्तो संवेदनशील विषयमा माओवादीले लिएको जिम्मेवार र स्पष्ट धारणा नै अन्ततः संशोधनसहित संसदबाट पारित गराउने राजनीतिक सहमति निर्माणमा निर्णायक बन्यो।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com