काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादी प्रवृत्तिले समाजलाई भड्काउँदै जनताका सपना चोर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले केही व्यक्तिहरू असन्तुष्टि र भ्रम फैलाएर समाजलाई अस्थिर बनाउने प्रयासमा लागेको बताए।
उनले भने, “केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप–प्रत्यारोप र आक्रोश देशको पछिल्लो बिम्ब भएको छ। अहिले घृणावाद र लोकप्रियतावाद फस्टाइरहेका छन्, जसले चलाखीपूर्ण ढंगले जनताको सपना चोरी गर्न खोजिरहेका छन्।”
उनका अनुसार पछिल्लो केही महिनायता शासन प्रणालीको कमजोरी र सरकारको ढिलो कामका कारण जनतामा निराशा बढेको छ। यसैको आधारमा “पुराना दलहरूको काम छैन” भन्ने नयाँ भाष्य सिर्जना गर्न खोजिएको उनले बताए।
बास्कोटाले लोकतन्त्रको विकासका लागि स्थायित्व र राजनीतिक परिपक्वता आवश्यक रहेको उल्लेख गरे।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया