काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठाएका छन्। विशेषगरी बहुचर्चित सहकारी ठगी प्रकरणमा संलग्न भई फरार रहेका जीवी राईलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको भन्दै उनले बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसँग जवाफ मागे ।
विशेष समय लिएर बोल्दै शर्माले राईसँग सहकार्य गरेका रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पक्राउ गरिएपनि, राई भने अझै मलेसियामै लुकेर बसिरहेको भन्दै त्यसतर्फ सरकार किन मौन छ भन्ने प्रश्न उठाए।
“गृहमन्त्रीज्यू, म सोध्न चाहन्छु , जीवी राईका दुईजना पार्टनर जेलमा छन्, तर उनलाई मलेसियाबाट नेपाल ल्याउने काम किन अड्किएको हो?” शर्माले भने, “यो प्रशासनिक ढिलासुस्ती मात्र हो कि कूटनीतिक असफलता ?”
उनले राईको ठेगाना पहिचान भइसकेको र त्यसयता नेपालमा तीन जना गृहमन्त्री फेरिइसकेको भए पनि कुनैपनि सरकारले उनलाई नेपाल फर्काउन पहल नगरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। “हजारौं नेपालीलाई ठगेका व्यक्तिलाई कारबाही गर्न नसक्नु हाम्रो कूटनीतिक दुर्बलता हो,” उनले भने।
महामन्त्री शर्माले सहकारी ठगी पीडितलाई राहतस्वरूप सरकारले पाँच लाख रुपैयाँसम्म फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयनमा शून्यता रहेको भन्दै आलोचना गरे। “अध्यादेशमार्फत राहत दिने भनिएको थियो, तर किन कार्यान्वयनमा आएको छैन?” उनले प्रश्न गरे ।
शर्माको भनाइ अनुसार, सहकारी ठगी प्रकरणमा पीडितहरू न्याय र राहतको पर्खाइमा छन्, तर सरकार कानुनी कारबाही र प्रतिबद्धताको कार्यान्वयनमा असफल देखिएको छ।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया