काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलहरूको संयुक्त बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न भयो।

बैठकको मूल एजेन्डा ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ मा केन्द्रित थियो, जुन निर्वाचन आयोगले दलहरूलाई सुझावका लागि पठाएको हो। आयोगले भोलिसम्म प्रतिकृया दिन आह्वान गरे पनि अधिकांश साना दलहरूले कार्यविधिलाई अस्वीकार गरेका छन्।

advertisement

बैठकमा सहभागी दलहरूले आयोगले ल्याएको कार्यविधि संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आयोगको प्रस्तावित ढाँचा साना दलहरूलाई दबाउन र दुई दलीय प्रणालीलाई प्रवर्द्धन गर्ने खालको रहेको आरोप लगाए।

बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाबाट गणेश पराजुली र सोविता गौतम, राप्रपाबाट बुद्धिमान तामाङ, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, राजेन्द्र पाण्डे र प्रमेश हमाल, जनमत पार्टीबाट डा. सिके राउत, र जनता समाजवादी पार्टीबाट प्रभु साह सहभागी थिए।

जनमत पार्टी सत्तारुढ दल भए पनि अध्यक्ष राउत बैठकमा उपस्थित भए। बैठकमा सत्तापक्ष र विपक्षको छुट्टै खेमाबन्दी नभएको भन्दै राउतले आफू पनि साझा चिन्तामा सहभागी हुन पुगेको स्पष्ट पारे।

“यो विपक्षीको मात्र होइन, सबै साना दलको साझा विषय हो। स्वमूल्याङ्कन कार्यविधिको विरोध साना दलहरूको साझा लडाइँ हो। कांग्रेस र एमाले साना दललाई कमजोर पार्न खोज्दैछन्,” डा. राउतले भने।

माओवादी उपमहासचिव वर्षमान पुनले पनि सत्तापक्ष–विपक्षको सीमाभन्दा माथि उठेर साना दलहरूको हक हितका लागि बैठक बसेको बताए।

“निर्वाचन आयोग जस्तो संवैधानिक निकायले पनि अब निष्पक्षता गुमाउँदै कांग्रेस–एमालेको निर्देशनमा दुईदलीय व्यवस्था निर्माणतर्फ अग्रसर हुन खोजिरहेको जस्तो देखिएको छ,” पुनले बताए।

बैठकमा सहभागी सबै नेताहरूले प्रस्तावित कार्यविधि अस्वीकार गर्दै आयोगलाई संवैधानिक सीमाभित्र रहन कडाइका साथ आग्रह गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com