नेपालको राजनीति आज एउटा यस्तो चौबाटोमा उभिएको छ, जहाँ सत्ताको स्वार्थले सिद्धान्तको लासलाई टेक्न थालेको छ। जब पुरानो घर भत्काएर नयाँ बनाउने कुरा आउँछ, त्यतिबेला पुराना ठेकेदारहरू आफ्नो जगको गुणगान गाउदै अरूको जगमाथि माटो छ्याप्न व्यस्त हुन्छन्। उनीहरूको यो निरन्तरको झगडाले नयाँ जग हाल्न लागेकाहरूलाई मात्रै होइन, सम्पूर्ण देशलाई नै अस्थिरताको खाडलमा धकेलिरहेको छ। पछिल्लो समय संसदमा देखिएको दृश्यले यही कुराको ज्वलन्त उदाहरण प्रस्तुत गर्यो। करिब ३८ मिनेटसम्म एक जना महामन्त्रीले आफ्नो दलको सिद्धान्त र भविष्यबारे होइन, केवल एक अर्को नयाँ दलका सभापतिको आलोचनामा आफ्नो अमूल्य समय खर्चिए। मानौ, देशको सम्पूर्ण समस्याको जड नै त्यो एक व्यक्ति र उनको पार्टी हो, जसलाई गाली गर्दा जनताको पेट भरिन्छ र देशको समृद्धि आफै आउँछ। यो केवल राजनैतिक प्रतिशोधको पराकाष्ठा हो, जसले नयाँ पुस्ताको राजनीतिलाई फोहोरको थुप्रोमा धकेल्न खोजिरहेको छ। यो लाजमर्दो खेलले स्पष्ट गर्छ कि यी पुराना दलहरूसँग आफ्ना उपलब्धीहरूको फेहरिस्त होइन, केवल अरूको आलोचना गर्ने थोत्रो अस्त्र मात्रै बाँकी छ।
यिनीहरूको राजनीति यतिसम्म गहिरो पतनमा पुगेको छ कि, अब उनीहरू आफ्नै पार्टीको इतिहास र सिद्धान्त भुलेर केवल सत्ताको कुर्सी जोगाउन अरूको खुट्टा तान्न र चरित्र हत्या गर्नमा गौरव महसुस गर्न थालेका छन्। ३८ मिनेटको भाषणमा देशको अर्थतन्त्र, सुशासन वा विकासका कुनै एजेन्डा नहुनुले नै प्रमाणित गर्छ कि यिनीहरूको प्राथमिकतामा देश र जनता होइन, केवल सत्ताको खेल र प्रतिशोधको राजनीति मात्रै पर्छ। यस्तो लाजमर्दो खेलले राजनीतिलाई एउटा सर्कसको रूपमा परिणत गरिदिएको छ जहाँ जोकरहरू आफ्नो पार्टीको सिद्धान्तलाई रमाइलोको साधन बनाउँदैछन्।
संसदमा हास्यव्यङ्ग्य: प्रतिशोधको राजनीति
संसद भवन आजकल समस्या समाधानको केन्द्र भन्दा पनि हास्यव्यङ्ग्य र राजनैतिक प्रतिशोधको थलो बनेको छ। जब कांग्रेसका महामन्त्रीले आफ्नो ३८ मिनेटको समय एक व्यक्ति र उनको पार्टीलाई गाली गर्न खर्चिए, तब त्यहाँ उपस्थित पीडितका आँसुलाई कसले पुछ्यो? महामन्त्रीले रवि लामिछाने जेलमा हुनुपर्ने कुरा गरे तर, पीडितहरूले सोधे, ‘उनी जेलमा जादैमा हाम्रो क्षतिपूर्ति कसले दिन्छ?’ यो प्रश्नको जवाफ कसैले दिएन। किनकि यहाँ मुद्दाको समाधान होइन, मुद्दामाथि राजनैतिक रोटी सेक्ने खेल चलिरहेको छ। अर्को हास्यास्पद तर्क थियो, ‘रवि लामिछानेको पालामा सबैभन्दा धेरै मानिस विदेश गए।’ हो, विदेश जानु र मानव तस्करी हुनुमा ठूलो फरक छ, यो कुरा बुझ्नको लागि कुनै गहिरो अध्ययन वा अनुसन्धान चाहिन्न। यस्तो हल्का तर्क दिएर जनताको आँखामा छारो हाल्ने प्रयास गर्नु आफैमा एउटा ठूलो व्यंग्य हो।
यता अर्का महामन्त्री, जो वर्षौदेखि ‘मसँग प्रमाण छ’ भन्दै गफ हाकिरहेका छन्, उनले आजसम्म त्यो ‘प्रमाण’ देखाउन सकेका छैनन्। अब जनताले सोध्नेछन्, ‘तिमीले यो प्रमाण कहाँ लुकाएर राखेका छौ र यो लुकाउनुको कारण के हो?’ यस्तो राजनीतिले जनतालाई आशा जगाउने नयाँ दलहरूमाथि निरंकुश तरिकाले दबाब सिर्जना गर्ने प्रयास गरेको स्पष्ट देखिन्छ, जुन निकै गम्भीर र आपत्तिजनक छ। जनताको भावना र समस्यालाई बेवास्ता गर्दै केवल आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि मुद्दाहरूलाई प्रयोग गर्ने यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई थप फोहोर बनाउँदै लगेको छ।
लोकतन्त्रको नयाँ परिभाषा: निषेधको राजनीति
राजनीतिक दलहरूलाई निगरानी राख्ने निर्वाचन आयोगको खबर सुन्दा पुरानो गठबन्धनको मनसाय छर्लङ्ग हुन्छ। यो कांग्रेस र एमालेको अप्राकृतिक गठबन्धनले अरू दलहरूलाई निषेध गर्न खोजेको स्पष्ट संकेत हो। के लोकतन्त्रको मर्म यही हो? के लोकतन्त्रको परिभाषा ‘हामीले मात्रै शासन गर्न पाउँछौ, अरूको अस्तित्व स्वीकार्य छैन’ भन्ने हो? आजको शिक्षित जनता यो कुरा बुझ्न सक्छन् कि यो लोकतन्त्रको मर्म अनुसार होइन, बरु त्यसको ठीक विपरीत हो। यो त तानाशाही मनोवृत्तिको एउटा सानो झलक मात्र हो, जसले आफूलाई ‘लोकतन्त्रको मसिहा’ भन्न रुचाउँछ। जब दुई ठूला दलहरू जसले वर्षौदेखि देशमा शासन गरे, एकअर्काको कमजोरी र भ्रष्टाचारलाई लुकाउन एक ठाउँमा आउँछन्, तब यो गठबन्धन केवल सत्ताको स्वार्थमा आधारित हुन्छ। यसले आगामी निर्वाचनमा जनताको विश्वास गुमाउने निश्चित छ।
यस्तो गठबन्धनले जनतालाई दिएको सन्देश स्पष्ट छ, – ‘हामीले तिमीहरूलाई अब नयाँ विकल्प दिदैनौ, तिमीहरूको आवाज दबाउन हामी एक भएका छौं।’ यो कस्तो लोकतान्त्रिक अभ्यास हो, जहाँ जनताको नयाँ आशालाई अंकुरण हुनुअघि नै खुट्टामुनि कुल्चिन खोजिन्छ, उनीहरूको यो तानाशाही मनोवृत्तिले गर्दा नै आज पनि जनताले नयाँ र परिवर्तनको चाहना गरेका छन्। यो गठबन्धनले आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई कसरी बलि चढाउँदैछ भन्ने कुरा स्पष्ट हुन्छ।
जन-सम्पर्क: फेसबुक, फाइभ-स्टार र चिया पसल
आजका नेताहरू जनतासँग कसरी सम्पर्कमा छन्? केही ठेकेदार र ५/१० जना चाकडीवाज कार्यकर्तासँग बसेर, पाँचतारे होटलका सेमिनारहरूमा भाषण गरेर र सामाजिक सञ्जालमा ‘स्टेटस’ अपडेट गरेर उनीहरूले जनताको भावना बुझ्न खोज्छन्। यो कस्तो जन-सम्पर्क हो, जहाँ जनतालाई होइन, केवल आफ्ना कार्यकर्तालाई मात्रै महत्व दिइन्छ, राजनीति चम्किलो गाडीमा बसेर घुम्ने र एसीको चिसो हावामा गोष्ठी गर्ने कुरा होइन। राजनीति त चिया पसलको गफ, गल्लीको भीड र सर्वसाधारणको दैनिकीमा लुकेको हुन्छ।
के नेताहरूले कहिल्यै आम नागरिक बनेर चिया पसलमा गएर जनताको कुरा सुनेका छन्? वा, भ्रष्टाचारको कमाईबाट किनेको चिल्लो गाडीमा बसेर चुनाव प्रचार गरेका छन्, जनताको भावनालाई बुझ्न र उनीहरूको चाहना पूरा गर्नको लागि उनीहरूसँगै बस्नुपर्छ, उनीहरूकै दुःख-सुखमा सहभागी हुनुपर्छ। राजनीति भनेको पाँचतारे होटलको गोष्ठी होइन, यो त जनताको घर-दैलोको यात्रा हो तर, आजका नेताहरूले यो कुरा भुलेर आफ्नै ‘भर्चुअल’ संसारमा रमाउन थालेका छन् जसले गर्दा जनता र नेताबीचको दूरी झन् बढ्दै गएको छ।
योग्यता र कार्यकर्ताको द्वन्द्व: कुन बाटो ठीक?
कांग्रेस र एमालेका लागि मेरो सुझाव छ, ‘अब सुध्रिने बेला आइसकेको छ।’ नयाँ पुस्तालाई जोड्नुस्, योग्य र क्षमतावान व्यक्तिहरूलाई पार्टीमा जिम्मेवारी दिनुस्। अहिले पनि उनीहरूले ‘२५ वर्षदेखि पार्टीलाई सेवा गरेका कार्यकर्तालाई जिम्मेवारी दिने कि एक ऊर्जाशील, क्षमतावान, दूरदर्शी युवालाई’ भन्ने प्रश्नमाथि बहस गरिरहेका छन्। यसको जवाफ सहज छ: देश बनाउनका लागि क्षमता र भिजनको आवश्यकता हुन्छ, केवल पार्टी भक्तिले मात्रै राष्ट्र निर्माण हुँदैन।
यदि कुनै योग्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएको व्यक्ति पार्टीमा आउन चाहन्छ भने के तपाईहरू उसलाई ठाउँ दिन सक्नुहुन्छ? के त्यस्तो गर्न तपाईंहरूमा हिम्मत छ? सायद छैन। किनकि यहाँ राजनीतिलाई पार्टीको सम्पत्तिको रूपमा हेरिन्छ र यसमा नयाँ व्यक्तिलाई प्रवेश दिनु भनेको आफ्नो ‘विरासत’ गुमाउनु हो। यस्तो मानसिकताले गर्दा नै आज पनि ‘बाजेका पालाका नेता’हरूले पार्टी चलाइरहेका छन्। उनीहरूले बुझ्नु जरुरी छ कि राजनीति केवल शक्ति, पहुँच र पैसाको लागि होइन, यो त सच्चा देशप्रेम र जनसेवा हो जुन आध्यात्मिक चिन्तन र समर्पणबाट मात्रै सम्भव हुन्छ।
राष्ट्रिय स्वार्थको सट्टा ‘विवादको खेती’: नेताहरूको प्राथमिकता
नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना यही हो कि यहाँ नेताहरू राष्ट्रिय स्वार्थको कुरा होइन, केवल विवादको खेती गर्नमा व्यस्त छन्। देशको आर्थिक समृद्धि, पूर्वाधार विकास र नयाँ अवसरहरूको खोजीमा लाग्ने राजनीतिक दल र सरकारको प्राथमिकतामा किन यी कुराहरू पर्दैनन्? के तपाईहरूलाई यस्ता कुरामा फुर्सद छैन कि क्षमता नै छैन? अहिले पनि बहुविवाह गर्न पाउने विधेयक र ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकहरूमाथि बहस गर्न तपाईहरूलाई समय छ तर देशको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने विषयमा एउटा ठोस योजना छैन। यो कस्तो लाजमर्दो अवस्था हो जहाँ जनताले खानेकुराको मूल्यवृद्धिको चिन्ता गरिरहेका छन् र नेताहरूले सामाजिक तानाबाना भत्काउने र आफ्नै स्वार्थको ‘कुलिङ पिरियड’ कसरी बढाउने भन्नेमा छलफल गरिरहेका छन्।
के तपाईहरूको राजनीतिक एजेन्डा केवल जनतालाई भ्रममा राख्ने र एउटा विवादबाट अर्कोमा सार्ने मात्रै हो? आजको शिक्षित जनता यो कुरा बुझ्दछन् कि यो तपाईहरूको राजनीतिक स्टन्ट मात्र हो, जसको पछाडि राष्ट्रिय हित होइन, केवल सत्ताको स्वार्थ लुकेको छ। यस्तो हल्का र अपरिपक्व राजनीतिले देशलाई कहिल्यै अगाडि बढाउन सक्दैन। जनतालाई वास्तविक समस्याबाट भटकाउनका लागि यी विवादहरूलाई एउटा अचूक हतियारको रूपमा प्रयोग गरिएको छ जसले गर्दा नेताहरूले आफ्ना असफलताहरूलाई लुकाउन पाउँछन्।
अन्त्यमा, राजनीतिमा ‘राष्ट्रिय स्वार्थ’ भन्ने कुरा अब पुस्तकालयको धुलो लागेको किताबमा मात्र सीमित भएको छ, किनकि यहाँ व्यक्ति र दलको स्वार्थले राष्ट्रलाई कहिल्यै अगाडि बढ्न दिएन। कांग्रेस र एमालेको यो अप्राकृतिक गठबन्धनले जनताको नयाँ आशाको दियोलाई निभाउन खोज्दैछ। तर, उनीहरूले बुझेका छैनन् कि यो दियो निभाउन खोज्दा उनीहरू आफै जल्नेछन् र राजनीतिक इतिहासको पानाबाट आफ्नो नाम मेटाउनेछन्। यो फोहोर खेलको राजनीतिले २१औं शताब्दीमा अब काम गर्दैन। बरु कांग्रेस र एमालेलाई मेरो सुझाव छ, ‘विशेषज्ञहरूसँग छलफल सुरु गर्नुस्, प्रविधि र सूचनाको प्रयोग गरेर जनताबाट सुझाव सङ्कलन गर्नुस्।’
अरूको खुट्टा तानेर आफ्नो उचाइ बढाउने प्रयास अब असफल हुन्छ।
यो अप्राकृतिक गठबन्धनको सरकारले जनताको आवाजलाई दबाउने प्रयास गरेमा यसले आफूलाई नै खाडलमा जाकिदिनेछ। जनताले नयाँ आशाको दियो बालेका छन् र त्यो दियोलाई निभाउन खोज्नु भनेको आफैलाई अन्धकारमा धकेल्नु हो। राजनीतिलाई कमाइ खाने भाँडो सम्झने यो गलत मानसिकताले गर्दा नै आज तपाईहरू असफल हुनुभएको हो। यस्तो फोहोरी खेलको राजनीतिले जनताको विश्वास गुमाउने निश्चित छ। बरु तपाईहरू जनतासँगै दूरदृष्टिमा लाग्नुस्, योग्य र क्षमतावान युवा पुस्तालाई जोड्नुस्, अन्यथा तपाईहरूको अस्तित्व अब इतिहासको पानामा मात्र सीमित हुनेछ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया