बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जिल्ला कारागार भैरहवामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा सहभागी हुन गएका भट्टराईले शुक्रबार बिहान लामिछानेलाई भेटेका हुन्।

advertisement

भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लामिछानेलाई थुना बाहिर राखेर मुद्दा लड्न दिनुपर्ने तर्क गरे। “जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने आधारमा बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्छ,” उनले भने।

भट्टराईले रविलाई सांसद पदबाट हटाएर नयाँ निर्वाचनमा जाने या जमानतमार्फत बाहिर निस्केर जनताको सेवा गर्ने बाटो खोल्न सभामुखलाई समेत सुझाव दिइसकेको जानकारी दिए।

भट्टराईले लामिछानेलाई कारागारमा पत्रपत्रिका नपठाइने, सूचनाबाट बञ्चित गरिने र कोठामा एक्लै राखिएको अवस्थाले आफूलाई दुःखित बनाएको बताए। “पत्रपत्रिका पनि ल्याएर दिँदो रहेनछ। पञ्चायतकालमा पनि पत्रिका पढ्न पाइन्थ्यो,” उनले भने।

भट्टराईका अनुसार लामिछाने बस्ने कोठा साँघुरो र असहज थियो। उनले कारागारको अवस्थाबारे सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता जनाए।

भट्टराईले रविलाई भेट्नुको कारण प्रष्ट्याउँदै उनलाई राजनीतिक बन्दीका रूपमा लिएको र सद्भावका साथ भेट गर्न गएको बताए। उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको आरोप पनि लगाए।

यसअघि भट्टराईले लामिछानेको पक्षमा न्यायिक प्रक्रियाको सम्मान गर्दै हस्ताक्षर अभियानमा समेत सहभागिता जनाएका थिए।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com