काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर थुनाबाहिर राखी जमानतमा मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशस्तरीय दुई दिने विस्तारित बैठकमा सहभागी हुन गएका भट्टराईले शुक्रबार बिहान भैरहवा कारागारमा पुगेर लामिछानेलाई भेटेका हुन्।

advertisement

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेमाथि अदालतले अन्तिम फैसला नगरेको अवस्थामा उनलाई हिरासतमा राख्नुपर्ने आवश्यक नरहेको बताए। “जनताको प्रतिनिधि भाग्दैन, त्यसैले जमानतमा बाहिर रहेर मुद्दा फेस गर्न दिनुपर्थ्यो,” भट्टराईले भने।

उनले लामिछानेमाथिको मुद्दाको फैसलाको अधिकार अदालतसँग भए पनि आफूले वैकल्पिक राजनीतिक सोच राख्ने व्यक्तिका रूपमा भेट गरेको बताए।

“जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई नै अन्याय हुन्छ,” भट्टराईले थपे। उनले यसअघि टोपबहादुर रायमाझीको मामलामा पनि सांसद पद खारेज गरेर चुनाव गरिनुपर्ने तर्क अघि सारेको स्मरण गराए।

भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न समेत नदिइएको अवस्थामा आपत्ति जनाउँदै भने, “पञ्चायतकालमा पनि हामी पत्रिका पढ्थ्यौं। अहिले उहाँलाई सूचना र पहुँचबाट बञ्चित गरिएको छ।”

उनका अनुसार लामिछानेलाई राखिएको कोठा साँघुरो र अमानवीय रहेको देखिएको छ। उनले यस विषयमा सम्बन्धित निकायमा कुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com