काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई गोकर्णेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका छन्।
प्रहरी उपरीक्षक तथा परिसरका प्रवक्ता कुलदीप चन्दका अनुसार, साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिकै २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो। थोकर मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेलमा बसोबास गर्दै आएका थिए।
धारिलो हतियार प्रयोग गरी हमला गरिएको घटनामा संलग्न व्यक्तिहरूको खोजीका क्रममा सादा पोशाकमा खटिएको प्रहरी टोलीले राई र मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घाइते थोकरको सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो भने अहिले वीर अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य हुँदै गएको छ र उनी बोल्न सक्ने अवस्थामा छन्।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया