काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय शिक्षा विधेयक संसद्मा ढिलाइ हुनुमा नेकपा (एमाले) र नेपाली कांग्रेसलाई दोषी ठहराएका छन्। साथै, आफूहरूको पार्टीलाई कांग्रेस र एमालेसँग समान तुल्याउनु ‘दृष्टिदोष’ भएको टिप्पणी पनि गरेका छन्।
बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रममा उनले भने, “विद्यालय शिक्षा विधेयक संसद्मा पुग्न ढिलाइ हुनु नेकपा (एमाले) र कांग्रेसकै कारण हो। यो विधेयक मेरो प्रधानमन्त्रीत्वमा दर्ता भएको थियो। तर शिक्षकहरूसँग भएका सम्झौताविपरीत जान खोज्ने र विधेयकको विरोध गर्ने काम अहिलेको सरकारले नेतृत्व गर्ने एमाले र केपी ओलीजी नै हुन्। यसमा भ्रममा पर्न आवश्यक छैन।”
दाहालले सरकारले असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धता भए पनि श्रावण १५ बितिसक्दा पनि काम अघि बढ्न नसकेको भन्दै गम्भीर आलोचना गरे। उनले भने,“सरकारले विधेयक रोकिरहेको छ।”
कार्यक्रममा विद्यार्थीहरूको प्रश्नको जवाफ दिनुहुँदै दाहालले आफ्नो नेतृत्वमा भएका उपलब्धिलाई बेवास्ता गरेर सबैलाई एउटै थुप्रोमा हाल्नु गलत भएको बताए।
यदि कुनै विद्यार्थीले हामीलाई कांग्रेस र एमाले जस्तै देख्छ भने त्यो दृष्टिदोष हो उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने, गरिब किसानको ऋण मिनाहा गर्ने, लोडसेडिङ अन्त्य गर्ने माओवादी र भ्रष्टाचार गर्ने कांग्रेस र एमाले उस्तै हुन सक्दैनन्।”
दाहालले आफ्नो कार्यकालमा विश्वविद्यालयमा भएको राजनीतिक भागबन्डा समाप्त गरी मेरिटको आधारमा कर्मचारी नियुक्ति गर्ने प्रणाली लागू गरेको पनि दाबी गरे।
“विश्वविद्यालयमा राजनीतिक भागबन्डा र आफ्ना कार्यकर्ता नियुक्त गर्ने पुरानो प्रणाली तोडेर मेरिटोक्रेसी स्थापना मैले गरेको हुँ। तर अहिले सरकार फेरिएको छ र पुरानै प्रथा फर्किएको छ। कर्मचारी भर्ती फेरि राजनीतिक केन्द्रित बनेको छ,” उनले भने।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया