काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विद्यमान यथास्थिति तोड्न अब फेरि सडकबाटै नयाँ र शक्तिशाली आन्दोलन आवश्यक भएको बताएका छन्।
अखिल (क्रान्तिकारी)ले बिहीबार राजधानीमा आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै दाहालले अहिलेको शासन प्रणाली, न्याय प्रणाली, र प्रशासनिक संरचनामा अझै पनि परिवर्तनको चेत नपुगेको टिप्पणी गरे।
‘मैले बेला–बेलामा भन्ने गरेको छु, यो देशमा फेरि एउटा क्रान्ति आवश्यक छ’, उनले भने, ‘म सशस्त्र क्रान्तिको कुरा गरिरहेको छैन, तर जनदबाबबिना यिनीहरूको सोच परिवर्तन हुँदैन जस्तो देखिन्छ। त्यसैले अब सडकबाटै जनताको बलमा ठूलो आन्दोलन अपरिहार्य जस्तो लागिरहेको छ।’
उनले विद्यालय शिक्षा विधेयकलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले रोक्दै आएको भन्दै यस्ता सुधारका प्रयासहरूमाथि नियोजित हमला भइरहेको आरोप लगाए।
‘शिक्षामा सुधार ल्याउने हाम्रो पहललाई यही पुराना दलहरूबाटै पटक–पटक अवरोध गरिएको छ,’ उनले भने, ‘हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नदिने प्रवृत्ति अझै हाबी छ।’
दाहालले सुधारका एजेन्डा कार्यान्वयन गर्न नसक्नुको मूल कारण पुराना सोच भएका नेताहरू, ढिलो सुधार गर्ने प्रशासन, र परिवर्तनविरोधी न्याय प्रणाली भएको जिकिर गरे।
‘हामीले क्रान्तिको माध्यमबाट संविधान, गणतन्त्र र संघीयता ल्यायौं तर त्यसको मर्म ब्युरोक्रेसी, अदालत र पुराना दलका नेताहरूको सोचमा प्रवाहित गराउन सकेनौं,’ उनले भने, ‘अब फेरि जनतामाझ जानु भनेको त्यही चेत जगाउने काम गर्न तयार हुनु हो।’
कार्यक्रमको क्रममा उनले आफैं आन्दोलनको नेतृत्व गर्न तयार रहेको स्पष्ट पार्दै मुलुकमा आवश्यक परिवर्तन अब जनदबाबबाटै सम्भव हुने बताए।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया