काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताका छोराछोरीलाई सार्वजनिक विद्यालयमा अध्ययन गर्नुपर्ने र विदेश जान नपाउने गरी नीति तय गर्ने तयारी भइरहेको बताएका छन्।
बिहीबार राजधानीमा अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र यस्तो निर्णय प्रक्रियामा रहेको जानकारी दिएका हुन्।
उनका अनुसार, माओवादी केन्द्रले आफ्ना स्थानीय तहका जनप्रतिनिधिका छोराछोरीलाई सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ। अब चाँडै केन्द्रीय नेताहरूका छोराछोरीका हकमा पनि सोही प्रकारको निर्णय लागू गर्ने तयारीमा रहेको उनले स्पष्ट पारे।
“म पार्टीको अध्यक्ष हुँ, मेरा छोराछोरी विदेश पढ्न गएका छैनन्। अहिले हामी पार्टी केन्द्रका सबै नेताले आफ्ना छोराछोरी सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने र विदेश नपठाउने निर्णयतर्फ अघि बढिरहेका छौं,” अध्यक्ष प्रचण्डले भने।
प्रचण्डका अनुसार, पार्टीले सार्वजनिक शिक्षालाई सशक्त बनाउन नेताहरूबाट नै उदाहरणीय पहल गर्ने उद्देश्यले यस्तो नीति ल्याउन लागेको हो।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया