काठमाडौं । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल शिक्षक महासंघको नेतृत्वलाई शिक्षण पेसामा प्रत्यक्ष संलग्न बनाएर पेसागत जिम्मेवारी पूरा गर्न बाध्य बनाउनुपर्ने धारणा राखेकी छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षक महासंघका कतिपय नेताहरू शिक्षण कार्यबाट टाढा रहँदै पनि केवल नेताको हैसियतमा रहन खोज्ने प्रवृत्तिले शिक्षा प्रणालीमा गुणस्तर नआएको आरोप लगाइन्।
उनले भनिन्, “शिक्षक महासंघको नेतृत्वमा रहेका व्यक्तिहरू ‘शिक्षक नेता’ हुँ भनेर जिम्मेवारी नलिएर हिँड्ने परिपाटीले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ। उनीहरूलाई पनि निश्चित अवधिका लागि शिक्षण कार्यमै खटाउने व्यवस्था गर्नुपर्छ।”
सांसद भट्टराईको भनाइ अनुसार, शिक्षक महासंघको नेतृत्वमा बसेकाहरूले पनि नियमित रूपमा कक्षामा उपस्थित भएर शिक्षण पेसामा सक्रिय रहनुपर्नेछ। यसले मात्र उनीहरूलाई पेसागत उत्तरदायित्वबोध गराउने र समग्र शिक्षा प्रणालीमा सुधार ल्याउने विश्वास उनको छ।
समिताअन्तर्गतको परामर्श उपसमितिले पनि यस्तो धारणा प्रस्तुत गरेको छ। उपसमितिको प्रस्तावअनुसार महासंघका पदाधिकारीहरूलाई काजमा पठाउँदा विद्यार्थीको पठनपाठनमा असर नपर्ने गरी वैकल्पिक शिक्षकको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, महासंघले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरणसहितको वार्षिक प्रतिवेदन पनि आर्थिक वर्ष समाप्त भएपछि तीन महिनाभित्र शिक्षा मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सो प्रतिवेदनमा शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि, गुणस्तरीय शिक्षा प्रवर्द्धन लगायतका रचनात्मक गतिविधिहरू समावेश हुनुपर्ने उल्लेख छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया