काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउने सम्भावना रहेको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उद्धृत गर्दै रूसी समाचार संस्था ‘तास’ ले राष्ट्रपति पुटिनको प्रस्तावित भ्रमणबारे जानकारी दिएको हो।
रूसका रक्षा मन्त्री सर्गेई सोइगुसँगको भेटमा डोभालले भने, “भारत–रूस सम्बन्ध अहिले निकै बलियो भएको छ, जसको हामी उच्च मूल्यांकन गर्छौं। दुई देशबीच विश्वासिलो साझेदारी रहेको छ र दुवै पक्ष उच्चस्तरीय संवादमा संलग्न छन्।”
डोभाल हाल रूसको भ्रमणमा छन्। उनको राष्ट्रपति पुटिनसँग पनि भेट हुने प्रबल सम्भावना रहेको जनाइएको छ। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–रूस सम्बन्धबारे चिसोपन झल्किने टिप्पणी गरेपछि भएको यो भ्रमणलाई थप महत्त्वका साथ हेरिएको छ।
राष्ट्रपति पुटिन सन् २०२१ को डिसेम्बर ६ मा भारतको छोटो चार घण्टे भ्रमणमा आएका थिए। उक्त भ्रमणका क्रममा भारत र रूसबीच सैन्य र प्रविधिसहित २८ वटा महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएका थिए।
दुबै देशले सन् २०२५ भित्र आपसी व्यापार ३० अर्ब डलरसम्म पुर्याउने लक्ष्य लिएका थिए। पछिल्लो प्रगति अनुसार, भारत–रूस व्यापार वार्षिक झन्डै ६० अर्ब डलरमा पुगिसकेको छ। दुवै मुलुक अब व्यापारलाई दोब्बर बढाउँदै १०० अर्ब डलर नाघाउने तयारीमा छन्।
सन् २०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक रूसको भ्रमणमा गएका थिए। पहिलोपटक जुलाईमा दुई दिने भ्रमण गरेका मोदी अक्टोबर २२ मा ब्रिक्स सम्मेलनको अवसरमा पुनः रूस पुगेका थिए। सोही क्रममा उनले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निमन्त्रण दिएका थिए।
तर अन्तर्राष्ट्रिय आपराधिक अदालत ले सन् २०२३ को मार्चमा राष्ट्रपति पुटिनविरुद्ध युक्रेन युद्धमा बालबालिकाको अपहरण र बलपूर्वक स्थानान्तरण गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि पुटिनले कुनैपनि अन्तर्राष्ट्रिय भ्रमण गरेका छैनन्। ICC को अरेस्ट वारन्ट पाउने उनी संयुक्त राष्ट्र सुरक्षा परिषद्का पहिलो स्थायी सदस्य राष्ट्रप्रमुख हुन्। यस सूचीमा अमेरिका, रूस, चीन, बेलायत र फ्रान्स छन्।
पुटिनले त्यसयता भारतमा भएको G२० शिखर सम्मेलनमा पनि भाग लिएका थिएनन्, र यस वर्ष ब्राजिलमा भइरहेको G२० बैठकमा पनि अनुपस्थित छन्।
तेल व्यापारका हिसाबले पनि भारत र रूसबीचको सम्बन्ध गहिरिँदै गएको छ। चीनपछि भारत रूसबाट तेल आयात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ। युक्रेन युद्धअघि भारतले दैनिक औसत ६८ हजार ब्यारेल तेल रूसबाट आयात गर्थ्यो, जुन सन् २०२३ को मे महिनासम्म आइपुग्दा बढेर २० लाख ब्यारेल प्रतिदिन पुगेको थियो। सन् २०२५ को जनवरीदेखि जुलाईसम्म भारतले प्रतिदिन औसत १७.८ लाख ब्यारेल रूसी तेल खरिद गरिरहेको छ।
पछिल्ला दुई वर्षमा भारतले रूसी तेलको आयातबाट वार्षिक १३० अर्ब डलरभन्दा बढीको कारोबार गरिसकेको छ, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाएको छ।
पुटिनको संभावित भारत भ्रमणले भारत–रूस सम्बन्धलाई रणनीतिक, आर्थिक र राजनीतिक रूपमा नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया