काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदको शोभा र प्रचारका लागि होइन, जनताको सेवाका लागि मुख्यमन्त्री बनेको स्पष्ट पारेका छन्। बिहीबार काठमाडौँमा आयोजित नेपाल किसान महासङ्घ बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री बानियाँले आफू पारदर्शी, उत्तरदायी र जनउत्तरदायी शासन अभ्यास गर्ने प्रतिबद्धताका साथ पदमा आएको जनाए। “म पदको लागि, फोटो टाँस्नका लागि मुख्यमन्त्री भएको होइन,” उनले भने, “मैले जिम्मेवारीपूर्वक काम गरेर देखाउनेछु।”
उनले अघिल्ला मुख्यमन्त्रीले के गरे-के नगरे भन्ने बहसमा नफस्ने पनि बताए। बरु आफैंले उदाहरणीय कार्य गरेर जनतामाझ विश्वसनीयता कायम गर्ने लक्ष्य रहेको उनले प्रस्ट पारे।
मुख्यमन्त्री बानियाँले मुख्यमन्त्रीको हैसियतमा प्राप्त हुने सरकारी सेवा-सुविधा समेत नलिने घोषणा गरे। “मुख्यमन्त्री भएको नाताले पाइने सेवा-सुविधा मैले नलिने निर्णय गरिसकेको छु,” उनले भने।
उनका अनुसार मुख्यमन्त्रीको रूपमा उनले पहिलो निर्णय गरिब, विपन्न, सिमान्तकृत र दलित समुदायप्रति केन्द्रित गरी गरेका छन्। उनले प्रदेशभित्रका चेपाङ, जिरेल, भोटे, बनकरिया लगायतका समुदायका छोराछोरीलाई छात्रवृत्तिमा डाक्टर पढाउने निर्णय भएको जानकारी दिए।
“पहिलो निर्णयमै मैले २ जना मेडिकल डाक्टर, २ जना आयुर्वेद डाक्टर र २ जना पशु चिकित्सक गरी ६ जना विद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर पढाउने व्यवस्था मिलाएको छु,” उनले भने। साथै, “१० जना गरिब परिवारका छोरीहरूलाई नर्सिङ अध्ययनका लागि छात्रवृत्तिमा पढाउने निर्णय पनि गरिएको छ,” उनले थपे।
मुख्यमन्त्री बानियाँको उक्त अभिव्यक्तिलाई सामाजिक न्याय र समावेशीताको अभ्यासतर्फको गम्भीर प्रयासका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया