सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक–पटक सर्ने अवस्था अन्त्य गर्न संघीय सरकारलाई आग्रह गरेका छन्। उनले अब मिति तय गर्दा नसर्ने गरी स्पष्ट तयारीसहित तालिका बनाउन सुझाव दिएका हुन्।

बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुसिंह चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले भने, “खेलकुद आयोजना गर्न हामी प्रतिबद्ध छौं। तर संघीय सरकार आयोजक भएको नाताले अब मिति तोक्ने तर खेल नहुने अवस्था दोहोरिनु हुँदैन।”

advertisement

उनले संघीय तथा प्रदेश सरकारको जिम्मेवारी स्पष्ट हुनेगरी तालिका बनाइनुपर्नेमा जोड दिए। अघिल्ला तयारीहरू कमजोर भएको भन्दै उनले अब संयोजन, जनशक्ति परिचालन, र उपसमिति गठनमा विशेष ध्यान दिन आग्रह गरे। “प्रतियोगिताको नाममा जम्बो उपसमिति बनाउने प्रवृत्ति दोहोरिनु हुँदैन,” उनले चेतावनी दिए।

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलकुद मिति नसर्ने गरी काम गर्न निर्देशन दिएको स्मरण गराउँदै, उक्त निर्देशनअनुसार अघि बढ्न खेलकुद मन्त्रालयलाई सुझाव दिए।

प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रदेश खेलकुद परिषद्का रिक्त पदमा नियुक्ति प्रक्रिया सुरु भइसकेको र रंगशालासहितका बाँकी पूर्वाधार निर्माण तुरुन्त अघि बढाइने बताए।

उनका अनुसार अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले नै पूर्वाधार तयार गरेको छ भने बाँकी पूर्वाधार निर्माणमा संघीय सरकारले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ।

युवा तथा खेलकुद मन्त्री चौधरीले अब मिति नसर्ने गरी खेलकुद आयोजना गर्न तयारी भइरहेको स्पष्ट पार्दै २४ वटा खेलको तयारी लगभग पूरा भएको जानकारी दिए। छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक विकास मन्त्री धनश्याम भण्डारीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com