काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई दक्षिण एसियाको उदाउँदो ‘सिलिकन उपत्यका’ को रूपमा विकास गर्न सकिने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित जापान–नेपाल आईटी फोरम २०२५ मा बोल्दै मन्त्री गुरुङले जापानसँग प्रविधि साझेदारी गर्दै नेपाललाई सूचना प्रविधिको हब बनाउने लक्ष्य लिएको बताएका हुन्।
उनले भने, “नेपालको भौगोलिक बनावट, जलवायु र मानव स्रोतको सम्भावना हेर्दा सूचना प्रविधि (आईटी) उद्योग विस्तारका लागि नेपाल एक उपयुक्त गन्तव्य बन्न सक्छ।”
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकार ई-गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स (AI), साइबर सुरक्षा, र डिजिटल पूर्वाधारमा प्रतिबद्ध रहेको बताए।
उनका अनुसार नेपालले जापानसँग जी-टु-जी (Government to Government) ढाँकामा साझेदारी गर्दै AI उत्कृष्टता केन्द्र, राष्ट्रिय बिग डाटा सेन्टर, र AI शिक्षा तथा अनुसन्धान कार्यक्रम सुरु गर्न लागेको छ। यी कार्यक्रमहरू नेपाली युवालाई प्रविधि क्षेत्रमा दक्ष बनाउन महत्वपूर्ण हुने उनले बताए।
मन्त्री गुरुङले नेपालको डिजिटल ट्रान्सफर्मेसन लाई सफल पार्न जापानी प्रविधि र लगानी आवश्यक रहेको उल्लेख गर्दै जापानसँगको सहकार्य अन्तर्गत नेपालले आफ्नै उपग्रह प्रक्षेपण गर्ने तयारीसमेत गरेको जानकारी दिए।
उपग्रहले ग्रामीण सम्पर्क विस्तार, मौसम पूर्वानुमान, विपद् पूर्वतयारी र टाढाको शिक्षामा सहयोग पुग्ने उनले स्पष्ट पारे।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया