काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानका रूपमा रहेको राजसंस्था र हिन्दू राष्ट्र विदेशी शक्तिको दबाबमा हटाइएको दाबी गरेका छन्।
शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै उनले नेपाली जनताको अभिमतविना जबर्जस्ती लादिएको विदेशी एजेन्डाले मुलुकको हित गर्न नसक्ने बताए। “राजसंस्था र हिन्दू राष्ट्रलाई योजनाबद्ध रूपमा एम्बुसमा पारिएको हो,” उनले भने, “यो सबै विदेशी शक्तिको प्रभाव र प्रायोजनमा गरिएको हो।”
अध्यक्ष थापाले संघीयता नेपाली जनताले बुझ्नै नसकेको भन्दै ‘सेतो हात्ती’ जस्तो प्रणाली पाल्न मुलुक असमर्थ रहेको तर्क गरे। “२०६२/६३ को आन्दोलनका बेलामा मैले स्वयम् विदेशी हस्तक्षेपलाई नजिकबाट देखेको छु,” उनले स्मरण गरे।
थापाले अहिले मुलुकमा सिद्धान्तविहीन, भ्रष्ट, नौटंकी र ठग प्रवृत्ति हाबी भएको टिप्पणी गर्दै राप्रपा नेपालको विचारधारामार्फत मात्रै मुलुकलाई समृद्ध र स्वाधीन बनाउने बाटो खुल्ने धारणा राखे।
“मुलुकलाई बचाउन र विकासको बाटोमा अघि बढाउन संवर्द्धनवाद बाहेक अर्को विकल्प छैन,” थापाले भने, “राप्रपा नेपाललाई राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न म उच्च मनोबलका साथ क्रियाशील छु।”
कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी, अर्थविद् प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारीलगायत विभिन्न विशिष्ट व्यक्तिहरूले राप्रपा नेपालको सदस्यता लिएका थिए। अध्यक्ष थापाले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया