काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलका लागि आज खेलाडी अक्सन हुँदैछ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार १५० खेलाडीको अक्सन हुन लागेको हो ।
गत असार २८ देखि साउन ६ गतेसम्म खुला गरिएको खेलाडी दर्तामा ४५८ खेलाडीले नाम दर्ता गराएका मध्ये अन्तिम सूचीअनुसार उनीहरुको अक्सन हुन लागेको हो । सहभागी आठ फ्रेन्चाइज टोलीले रोजेका र क्यानको प्राविधिक टोलीले तोकेको मापदण्डमा परेका १५० खेलाडी अक्सनमा सहभागी हुने क्यानले जनाएको छ।
शनिबार ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिपमा हुने अक्सनमा १५० जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्।
अक्सनमा ‘ए’ श्रेणीमा ८, ‘बी’ श्रेणीमा ३५ र ‘सी’ श्रेणीमा १०७ खेलाडी रहेका छन्। ‘ए’ श्रेणीमा मोहम्मद आदिल आलम, सुनाम गौतम, सूर्य तामाङ, शरद भेषवाकर, पवन सर्राफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद रहेका छन्।
‘ए’ श्रेणीका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। यस्तै, ‘बी’ श्रेणीमा न्यूनतम ५ लाख र अधिकतम १० लाख, ‘सी’ श्रेणीमा न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँको मूल्य दायरा निर्धारण गरिएको छ। सबैभन्दा बढी रकम बोली लगाउने टोलीले खेलाडी अनुबन्ध गर्न पाउँछ। तर अधिकतम तिर्न एकभन्दा बढी टोली तयार भएमा गोला प्रथाबाट टुङ्गो लगाइनेछ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया