काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धसम्बन्धी विषयमा चीन र भारतसहित पाँच देशका शीर्ष नेताहरूसँग टेलिफोन संवाद गरेका छन्।
शुक्रबार पुटिनले क्रमशः चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै वार्ता गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले युक्रेन युद्धबारे अमेरिकासँग हुने आगामी वार्ता, तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफसँग मस्कोमा बुधबार भएको करिब तीन घण्टे छलफलका विवरण साझा गरेका थिए।
चीनका राष्ट्रपति सी चिनफिङले रूस–अमेरिका बीच निरन्तर सम्पर्क र सम्बन्ध सुधारलाई “युक्रेन संकटको राजनीतिक समाधानका लागि सकारात्मक संकेत” बताएका छन्। सीसँग पुटिनको अन्य विस्तृत कुराकानी भने सार्वजनिक गरिएको छैन। पुटिन आगामी सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वार्षिक समारोहमा सहभागी हुन चीन जाने कार्यक्रम छ।
भारत तथा अन्य तीन पूर्व–सोभियत मुलुकका राष्ट्रप्रमुखहरूसँगको वार्ताको विस्तृत विवरण पनि बाहिर आएको छैन।
यसैबीच, पुटिन र ट्रम्पबीच आगामी अगस्ट १५ मा अलास्कामा प्रत्यक्ष भेट हुने तय भएको छ। उक्त भेटमा युद्धविरामबारे मुख्य छलफल हुनेछ। ट्रम्पले छिट्टै युक्रेनमा युद्धविराम सम्भावना उच्च रहेको विश्वास व्यक्त गर्दै, यदि सहमति नजुटे रूसमाथि १०० प्रतिशत भन्सार लगाउने चेतावनी दिएका छन्।
ट्रम्पको चेतावनी केवल रूससम्म सीमित छैन—रूसबाट तेल किन्ने भारत, चीन र अन्य मुलुकलाई समेत समान भन्सार दर लगाइने उनले बताएका छन्। भारतमा अहिले नै २५ प्रतिशत भन्सार लागू भइसकेको छ, र रूसी तेल आयात रोकिएन भने थप २५ प्रतिशत भन्सार बढाउने चेतावनी पनि उनले दिएका छन्।
युद्धविराम सम्झौता भएमा, रूसी तेल आयातकै कारण अमेरिकाले लगाएको भन्सार फिर्ता लिइन सकिने बताइएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया