काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका नाममा कुनै पनि भूभाग त्याग्ने सम्भावना अस्वीकार गरेका छन्।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको समय र स्थान तय भएको घोषणा गर्दै, युद्धविराम सम्भव हुन युक्रेनले केही जमिन त्याग्नुपर्ने हुनसक्ने टिप्पणी गरेका थिए।
त्यसको जवाफमा जेलेन्स्कीले शनिबार भिडियो सन्देशमार्फत संविधानविपरीत भूभाग हस्तान्तरण कहिल्यै नहुने स्पष्ट पारे। “हाम्रो भूमी कब्जा गर्नेहरूलाई उपहारस्वरूप भूमी दिने कुरा युक्रेनीहरूले कहिल्यै स्वीकार गर्ने छैनन्,” उनले भने।
जलेन्स्कीका अनुसार युक्रेन युद्ध अन्त्यका कुनै पनि छलफलमा युक्रेनको प्रत्यक्ष सहभागिता अनिवार्य छ। “हाम्रो जमिन र नागरिकविरुद्धको युद्ध हामीबिना अन्त्य सम्भव छैन,” उनले चेतावनी दिए, “युक्रेन वास्तविक शान्तिका लागि तयार छ, तर हाम्रो विरुद्ध वा हामीबिना हुने कुनै पनि निर्णय शान्तिविरुद्धको कदम हो।”
ट्रम्पले शुक्रबार आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गर्दै १५ अगस्टमा अलास्कामा पुटिनसँग भेट हुने बताएका थिए। क्रेमलिनले पनि भेटवार्ता तय भएको पुष्टि गरेको छ। रोयटर्सका अनुसार दुवै देशका अधिकारीहरू युद्धविरामका सम्भावित एजेन्डा तयार पारिरहेका छन्।
ट्रम्पले दुवै पक्षको हित हुनेगरी केही भूभागको अदला–बदली हुनसक्ने बताएका छन्। पुटिन भने यसअघि नै लुहान्स्क, डोनेट्स्क, जेपोरिज्झिया, खेरसोन र क्राइमियामाथि दाबी गरिसकेका छन्, तर ती मध्ये धेरै क्षेत्रमा उनको सेनाको पूर्ण नियन्त्रण छैन।
जेलेन्स्की १५ अगस्टको भेटमा सहभागी हुने–नहुने अझै टुंगो लागेको छैन। ट्रम्पले यसअघि त्रिपक्षीय वार्ता हुने सम्भावना व्यक्त गरेका थिए।
हालै ट्रम्पले रूससँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै युद्ध अन्त्यको पहल गरेका भए पनि पुटिन युद्धविराममा तयार नभएपछि उनले रूसी सामानमाथि १०० प्रतिशतसम्म भन्सार वृद्धि र थप प्रतिबन्धको घोषणा गरेका थिए।
पुटिनको पाँच राष्ट्रप्रमुखसँग युक्रेन युद्धबारे टेलिफोन संवाद
शुक्रबार पुटिनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका हुन्।
रोयटर्सका अनुसार उनले युक्रेन युद्धबारे अमेरिकासँग हुने वार्ताको तयारी र अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व मामिला हेर्ने दूत स्टिभ विटकफसँग मस्कोमा भएको तीन घण्टे छलफलका विवरण बाँडे।
वार्तामा चीनका राष्ट्रपति सीले रूस–अमेरिका निरन्तर सम्पर्कमा रहनु र सम्बन्ध सुधार हुनु युक्रेन संकटको राजनीतिक समाधानका लागि सकारात्मक कदम भएको बताएका छन्।
पुटिन र सीबीचको अन्य विषय खुलाइएको छैन। पुटिन आगामी सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वार्षिकोत्सवमा सहभागी हुन चीन जाने तय भएको छ। भारत र पूर्व सोभियत गणतन्त्रका नेताहरूसँगको विस्तृत कुराकानी पनि सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार












प्रतिक्रिया