रामेछाप । मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको एक स्कारपियो गाडी दुर्घटना हुँदा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
बा १३ च ३९३५ नम्बरको स्कारपियो मन्थली नगरपालिका–६, बोक्से पहरोमा सडकबाट करिब १०० मिटर तल खस्दै तामाकोशी नदी किनारमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।
दुर्घटनामा मन्थली नगरपालिका–७, सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान्, ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
राधा मन्थलीकी स्वास्थ्यकर्मी हुन् भने उत्तम विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत छन्। दम्पती आज बिहान हेटौँडामा अध्ययनरत छोरालाई भेट्न जाँदै गरेको बताइएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया